काठमाडौँ– वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आइतबार बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
शुक्रबार र शनिबारको वर्षाका कारण काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएपछि शनिबार बिहानदेखि यातायात अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो र लेदो हटाउन थालिएको थियो । सडक खुलाउन सुरक्षाकर्मी र प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो ।
रोशी गाउँपालिका–९ पिन्थलीमा खहरे खोलाले बगाएर ल्याएको ढुङ्गा र माटोसहितको लेदो तथा वडा नं. ८ गिम्दीबेँसीमा खसेको पहिरो हटाएपछि राजमार्गमा पुनः यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



