स्वदेशमै उत्पादन र रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलतामा जोड्नुपर्छ : अध्यक्ष श्रेष्ठ

हिमाल प्रेस १५ कार्तिक २०८३ १७:५० | Sunday, November 1, 2026
6
SHARES
स्वदेशमै उत्पादन र रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलतामा जोड्नुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले युवा तथा महिला उद्यमशीलताको विकास र उद्योग तथा शैक्षिक क्षेत्रबीचको सहकार्यलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउनुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम विश्वविद्यालय र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेश नवप्रवर्तन (स्टार्टअप एन्ड इनोभेसन) समिट २०८३’ को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष श्रेष्ठले स्वदेशमै उत्पादन, रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले उपभोग्य वस्तुदेखि रोजगारीका अवसरसम्म विदेशकै मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न युवालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको बताए। मुलुकलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) अनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन ४ खर्ब ६३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ। उक्त अवधिमा उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर ३.२८ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान छ। आधारभूत मूल्यमा प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको २ प्रतिशत र तृतीय क्षेत्रको २.९ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ।

अध्यक्ष श्रेष्ठले स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न महासंघले नीतिगत तहमा महत्वपूर्ण पहल गर्दै आएको बताए। महासंघको सहयोगमा स्टार्टअपसम्बन्धी नीतिगत मस्यौदा तयार गर्न सरकारलाई सहयोग गरिएको उल्लेख गर्दै हाल सञ्चालनमा रहेको २० लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा कार्यक्रमलाई थप प्रभावकारी र उद्यममैत्री बनाउनुपर्नेमा उनले जोड दिए।

स्टार्टअप सुरु गर्ने युवालाई प्रारम्भिक चरणमा मात्र नभई व्यवसाय विस्तार गर्ने समयसम्म वित्तीय सहयोग र नीतिगत सहजीकरण आवश्यक पर्ने श्रेष्ठको भनाइ थियो। उनले स्टार्टअप कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्‍याउनुपर्ने तथा सामूहिक रूपमा अघि बढाइने ठूला र नवप्रवर्तनकारी परियोजनाका लागि दुई करोडदेखि पाँच करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग गरे।

महासंघको स्टार्टअप एन्ड इनोभेसन कमिटी तथा युवा उद्यमी मञ्चमार्फत प्रत्येक वर्ष १०० भन्दा बढी नयाँ उद्यमीलाई ‘स्टार्टअप च्यालेन्ज’ कार्यक्रममार्फत पुरस्कृत तथा प्रोत्साहित गर्दै आएको पनि उनले जानकारी दिए।

सुदूरपश्चिममा कृषि क्षेत्रमा पछिल्लो समय व्यावसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण बढ्दै गएको छ। सिँचाइ सुविधासमेत विस्तार हुँदै गएको प्रतिवेदनले देखाएको छ। समीक्षा वर्षमा प्रमुख खाद्यान्न तथा अन्य बाली, तरकारी, फलफूल र मसला बालीले ढाकेको क्षेत्रफल २.११ प्रतिशतले घटे पनि ती बालीको उत्पादन ०.८२ प्रतिशतले वृद्धि भएको उल्लेख छ।

श्रेष्ठले स्टार्टअप सुरु गर्ने युवालाई व्यवसाय विस्तारको चरणसम्म वित्तीय सहयोग आवश्यक रहेको दोहोर्‍याउँदै ठूला तथा नवप्रवर्तनकारी परियोजनालाई पर्याप्त कर्जा उपलब्ध गराउनुपर्ने बताए।

उनले उद्योगको आवश्यकता र विश्वविद्यालयले प्रदान गर्ने शिक्षाबीच तालमेल हुन नसक्दा दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा समस्या देखिएको बताए। यसका लागि उद्योग र शैक्षिक संस्थाबीचको सहकार्यलाई संस्थागत गर्न महासंघले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र गण्डकी विश्वविद्यालयसँग सहकार्य गरिरहेको जानकारी दिए।

विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिको सीप र उद्योगको आवश्यकताबीचको अन्तर अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले पाठ्यक्रमलाई बजारको मागअनुसार परिमार्जन गर्नुपर्ने बताए। विद्यार्थीले अध्ययनसँगै उद्योगको वास्तविक कार्य वातावरणमा अनुभव प्राप्त गर्ने अवसर पाउनुपर्ने उनको भनाइ थियो।

महिलाको आर्थिक सशक्तीकरणलाई पनि मुलुकको समग्र आर्थिक विकाससँग जोड्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए। कुल जनसंख्याको ठूलो हिस्सा ओगटेका महिलालाई उत्पादन, उद्यम र रोजगारीमा सहभागी नगराई समृद्धिको लक्ष्य हासिल गर्न नसकिने उनले उल्लेख गरे। महिलालाई स्वरोजगार तथा उत्पादनशील क्षेत्रमा जोड्न महासंघले विशेष प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ थियो।

स्थानीय उत्पादनको बजारीकरण, सीप विकास र रोजगारी सिर्जनाका लागि महासंघले प्रदेश सरकार, स्थानीय तह तथा नगरपालिका संघहरूसँग सहकार्य विस्तार गर्न चाहेको पनि उनले बताए।

राष्ट्र बैंकको अध्ययनअनुसार समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको ७३.४८ प्रतिशत हिस्सा सेवा क्षेत्रमा गएको छ। सेवा क्षेत्रमा अकुपेन्सी वृद्धि, घरजग्गा रजिस्ट्रेसन संख्या तथा राजस्वमा समेत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

श्रेष्ठले श्रम मन्त्रालयसँगको सहकार्यमा सातै प्रदेशमा सीप विकास तथा रोजगार मेला सञ्चालन गर्ने महासंघको योजना रहेको जानकारी दिए। यसका लागि प्रदेश सरकार तथा नगरपालिका संघहरूसँग आवश्यक सम्झौता र समन्वय अघि बढाइने उनले बताए।

पूर्वाधार क्षेत्रतर्फ सुदूरपश्चिम प्रदेशका विभिन्न जलविद्युत् आयोजनाबाट गत वर्षको फागुनसम्म कुल १६९ मेगावाट विद्युत् उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ। प्रदेशमा निर्माणाधीन विभिन्न गौरवका आयोजनाले आर्थिक गतिविधि विस्तार गर्दै समग्र विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय व्यापार तथा बजार प्रणालीमा परिवर्तन भइरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नेपालले पनि आफ्नै उत्पादन, सीप, प्रविधि र उद्यमशीलताको क्षमता विकास गर्नुपर्ने बताए। नेपालको विकास नेपाली आफैँले गर्ने हो भन्दै उनले नवप्रवर्तन, उद्यमशीलता र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

प्रकाशित: १५ कार्तिक २०८३ १७:५० | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast