चाडपर्वको भरमा माटाका भाँडाको व्यापार,वर्षभरि जीविकाको चिन्ता

हिमाल प्रेस १५ कार्तिक २०८३ ९:५५ | Sunday, November 1, 2026
8
SHARES
चाडपर्वको भरमा माटाका भाँडाको व्यापार,वर्षभरि जीविकाको चिन्ता तिहार नजिकिँदै गर्दा महोत्तरीको गौशालामा माटोका दियोलगायत भाँडाकुँडा किनमेल गर्दै स्थानीय।

जनकपुरधाम- दीपावली र छठ पर्व नजिकिएसँगै जनकनन्दनी गाउँपालिका-४ खजुरीका कुमाल समुदायलाई माटाका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ छ।

पर्वका लागि आवश्यक दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार र मट्कालगायत सामग्री बनाउन स्थानीय कुमाल बिहानदेखि साँझ अबेरसम्म व्यस्त छन्।

बस्तीका घरआँगनमा कतै माटो मुछ्ने, कतै चक्र घुमाएर भाँडाकुँडालाई आकार दिने र कतै तयार भएका सामग्री सुकाउने तथा पकाउने काम भइरहेको छ। चाडपर्व नजिकिएसँगै माटाका सामग्री खरिद गर्न आउने ग्राहकको चहलपहल पनि बढ्न थालेको छ।

वर्षभरि सुस्त रहने माटाका सामग्रीको व्यापार दीपावली र छठका बेला केही चलायमान हुने भएकाले कुमाल समुदाय अहिले उत्पादनमा केन्द्रित भएको हो।

स्थानीय पृतम पण्डितले चाडपर्वको समयमा मात्र माटाका सामग्रीको बिक्री बढ्ने बताए। ‘वर्षभरि कारोबार सुस्त रहन्छ, चाडपर्वको समयमा मात्रै बिक्री हुन्छ,’ उनले भने,‘त्यसैले अहिले पाला बनाउन व्यस्त छौँ।’

कुमाल समुदायका लागि यो समय चाडपर्वको तयारीसँगै वर्षभरि सुस्त रहेको पुर्ख्याैंली पेसाबाट आम्दानी गर्ने अवसर पनि हो। स्थानीय सुन्दर पण्डितले माटाका भाँडा बनाउने काम आफ्नो परिवारको जीविकोपार्जनसँगै पुर्खाले हस्तान्तरण गरेको सीप, संस्कृति र पहिचानसँग जोडिएको बताए। ‘यो हाम्रो पसिना र मेहनतसँगै परिवारको जीविका र पुख्र्यौली पेसाको निरन्तरतासँग जोडिएको छ,’उनले भने,‘माटो हाम्रा लागि कच्चा पदार्थ मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र पहिचानको आधार पनि हो।’

स्थानीय अयोधि पण्डितका अनुसार दसैँ सकिएलगत्तै कुमाल समुदाय माटाका भाँडाकुँडा बनाउन र बिक्री गर्न सक्रिय हुन्छन्।

‘दसैँदेखि नै माटाका भाँडा बनाउने काममा लागेका छौँ,’ उनले भने,‘अहिले बिक्री राम्रो हुने भएकाले अरू काम थाती राखेर यही पेसामा केन्द्रित भएका छौँ।’ दसैँदेखि छठसम्म माटाका सामग्री बिक्री गरेर खर्च कटाउँदा एक लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए।

तर, चाडपर्वमा माग बढे पनि वर्षभरि यही पेसाबाट परिवारको खर्च धान्न कठिन रहेको कुमाल समुदायका अगुवा रामनारायण पण्डितले बताए।

पछिल्लो समय प्लास्टिक, स्टिल, आल्मुनियमलगायत आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको बजार खुम्चिँदै गएको छ।

यसले माटाका सामग्री बनाउने समुदायको आम्दानीमा असर पारेको छ भने नयाँ पुस्तालाई पुख्र्यौली पेसाप्रति आकर्षित गर्नसमेत चुनौती थपिएको छ।

‘कुनै समय हरेक घरमा माटाका भाँडाकुँडाको प्रयोग हुन्थ्यो। पानी राख्न घैँटो, खाना पकाउन हाँडी, पूजाका लागि कलश र दीपावलीमा घरआँगन उज्यालो बनाउन दियो अनिवार्यजस्तै थियो,’ रामनारायणले भने,‘तर अहिले ती सामग्रीको ठाउँ आधुनिक भाँडाकुँडाले लिन थालेका छन्। चाडपर्वमा समेत माटाका सामग्रीको प्रयोग सीमित हुँदै जाँदा यसैमा निर्भर परिवारको आम्दानी प्रभावित भएको छ।’

प्लास्टिक तथा आधुनिक सामग्रीको बढ्दो प्रयोगका कारण संकटमा पर्दै गएको माटाका भाँडा बनाउने परम्परागत पेसा संरक्षण गर्न राज्य, स्थानीय सरकार र उपभोक्ताको सहयोग आवश्यक रहेको कुमाल समुदायको भनाइ छ। स्थानीय स्तरमै उत्पादित माटाका सामग्रीको प्रयोग र प्रवर्द्धन बढाउन सके पुख्र्यौली सीप, संस्कृति र समुदायको जीविकोपार्जनलाई निरन्तरता दिन सहयोग पुग्ने उनीहरूको अपेक्षा छ।

प्रकाशित: १५ कार्तिक २०८३ ९:५५ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast