काठमाडौँमा नेपाल-भारत समन्वय बैठक सम्पन्न, सीमा सुरक्षा सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता 

हिमाल प्रेस १३ कार्तिक २०८३ १४:०४ | Friday, October 30, 2026
4
SHARES
काठमाडौँमा नेपाल-भारत समन्वय बैठक सम्पन्न, सीमा सुरक्षा सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता 

काठमाडौँ- नेपाल र भारतले सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, आधुनिक तथा प्रविधिमैत्री बनाउँदै सीमापार अपराध नियन्त्रण र द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच काठमाडौँमा सम्पन्न १०औँ नेपाल-भारत समन्वय बैठकमा सीमा सुरक्षा, सूचना आदानप्रदान, प्रविधिको प्रयोग तथा संयुक्त कार्य सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा सम्पन्न बैठकमा अघिल्लो ९औँ बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो।

बैठकमा रणनीतिक, अपरेशनल र कार्यक्षेत्र तहमा सहकार्य विस्तार गर्दै सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रणका लागि शीघ्र सूचना आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।

बैठकमा दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीसँगै नेपालका परराष्ट्र तथा गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए। भारतीय पक्षबाट एसएसबीका उच्च अधिकारी, काठमाडौँस्थित भारतीय दूतावास तथा भारतका विदेश र गृह मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकले नेपाल-भारत सीमा क्षेत्रमा शान्तिपूर्ण सुरक्षा अवस्था कायम राख्न दुवै देशका सुरक्षा इकाइहरूले देखाएको व्यावसायिकता र सहकार्यको प्रशंसा गरेको छ। सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचनाबाट उत्पन्न सुरक्षा चुनौती र सामाजिक सद्भावमा पर्ने असर न्यूनीकरण गर्न संस्थागत सहकार्य बढाउने सहमति पनि भएको छ।

दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण तथा अवैध संरचना हटाउन संयुक्त प्रयासलाई निरन्तरता दिने निर्णय गरिएको छ। त्यसैगरी बाउन्ड्री वर्किङ ग्रुप (बी डब्लू जी) र सर्भे अफिसियल्स कमिटी (एसओसी) का निर्णयअनुसार सीमा स्तम्भहरूको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि फिल्ड तहमा समन्वय बढाइने भएको छ।

सीमापार आपराधिक सञ्जाल, तस्करी, मानव बेचबिखन, नक्कली नोट, लागूपदार्थ ओसारपसार तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवागमन नियन्त्रणलाई बैठकले प्राथमिकतामा राखेको छ। खुला सीमाको दुरुपयोग रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शंकास्पद व्यक्तिबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको प्रवक्ता कार्कीले बताए।

सीमा सुरक्षालाई परम्परागत प्रणालीबाट आधुनिक र प्रविधिमैत्री स्मार्ट सीमा व्यवस्थापनमा रूपान्तरण गर्ने विषयमा पनि बैठकमा विशेष छलफल भएको छ। दशगजा क्षेत्रमा निगरानीका लागि सीसीटीभी, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक-थ्रु मेटल डिटेक्टर जडान गर्ने र आ-आफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषयमा दुवै पक्षबीच छलफल भएको हो।

यसका साथै सीमा सुरक्षा चुनौती सामना गर्न आधुनिक प्रविधि तथा विशेष तालिममा सहयोग विस्तार गर्ने र दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमण सञ्चालन गर्ने निर्णय गरिएको छ।

प्राकृतिक विपद् व्यवस्थापनमा समेत सहकार्य विस्तार गर्ने उद्देश्यले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘जोइन्ट स्विफ्ट वाटर रेस्क्यु एक्सरसाइज’ सञ्चालन गर्ने विषयमा छलफल भएको छ।

वैधानिक रूपमा सीमा पार गर्ने यात्रुलाई सहजता प्रदान गर्न सीमा नाकामा सहायता कक्ष (हेल्प डेस्क) विस्तार गर्ने तथा मैत्रीपूर्ण खेलकुद, अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सहमति पनि भएको छ।

सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो आयोजना हुँदै आएको द्विपक्षीय समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना गरिनेछ।

प्रकाशित: १३ कार्तिक २०८३ १४:०४ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast