सोमपालको विस्फोटक अर्धशतकमा कर्णालीको लगातार दोस्रो जित

हिमाल प्रेस १२ कार्तिक २०८३ २१:१३ | Thursday, October 29, 2026
12
SHARES
सोमपालको विस्फोटक अर्धशतकमा कर्णालीको लगातार दोस्रो जित

काठमाडौँ- कप्तान सोमपाल कामीको विस्फोटक अर्धशतक र चार विकेटको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ।

विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम दुई बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्‍यो। कर्णालीको यो लगातार दोस्रो जित हो। यसअघि उसले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। विराटनगरले भने लगातार दोस्रो हार बेहोरेको छ।

कर्णालीको जितमा सोमपाल र गुल्शन झाले निर्णायक भूमिका खेले। सातौँ विकेटका लागि यी दुईले अविजित ६४ रनको साझेदारी गरेपछि कर्णालीले कठिन लक्ष्य पार गरेको हो।

दबाबपूर्ण अवस्थामा क्रिजमा आएका सोमपालले ३२ बलमा चार चौका र तीन छक्कासहित अविजित ६२ रन बनाए। गुल्शनले २१ बलमा समान दुई चौका र छक्काको मद्दतमा नटआउट २८ रन जोडे।

त्यसअघि पवन सर्राफले २८ बलमा तीन छक्का र एक चौकासहित ३६ रन बनाएका थिए। उनले सोमपालसँग छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गरे। पवनलाई प्रतिश जिसीले क्याच आउट गराए।

कर्णालीका अरिफुल इस्लामले १२ बलमा तीन चौका र तीन छक्कासहित ३२ रन बनाए भने दीपक डुम्रेले २० रन जोडे।

सोमपाल एनपीएलमा अर्धशतक बनाउने पाँचौँ खेलाडी बनेका छन्। यसअघि डेविड मलान, दीपेन्द्रसिंह ऐरी, मोइन अली र लोकेश बमले अर्धशतक बनाएका थिए।

विराटनगरका एंगेलो म्याथ्युजले तीन विकेट लिए। चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।

सोमपालको अलराउन्ड प्रदर्शन

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो।

विराटनगरका ओपनर लोकेश बमले सर्वाधिक ८७ रन बनाए। उनले ५२ बलमा नौ छक्का र तीन चौका प्रहार गरे। लोकेशले एंगेलो म्याथ्युजसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए।

लोकेशले व्यक्तिगत एक रन बनाउँदा सोमपालको बलमा नन्दन यादवले उनको क्याच छाडेका थिए। त्यसपछि जीवनदान पाएका लोकेश ४८ रनमा पुग्दा सोमपालको एलबीडब्लु अपिलबाट पनि डीआरएसको सहायतामा जोगिए। तर, १६औँ ओभरको पाँचौँ बलमा सोमपालले नै उनलाई कट एन्ड बोल्ड गरे।

म्याथ्युजले २३ बलमा चार चौकासहित ३१ रन बनाए। आन्द्रे रसेलले १५ बलमा तीन चौका र दुई छक्कासहित २७ रन जोडे।

बसिर अहमदले १३, सेहान जयसूर्याले ११ र इमरान सेखले पाँच रन बनाए। चरिथ असलंकाले तीन रन जोडे भने साजन थपलिया खाता नखोली अविजित रहे।

कर्णालीका कप्तान सोमपालले चार ओभरमा एक मेडन राख्दै ३३ रन खर्चेर चार विकेट लिए। मार्क वाटले एक विकेट लिए।

बिहीबार नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।

प्रकाशित: १२ कार्तिक २०८३ २१:१३ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast