छोटो फिल्म प्रतियोगितामा पहिलो हुनेलाई २ लाख पुरस्कार

हिमाल प्रेस २९ माघ २०७९ ११:३७
28
SHARES
छोटो फिल्म प्रतियोगितामा पहिलो हुनेलाई २ लाख पुरस्कार

काठमाडौँ- म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसले संयुक्त रूपमा छोटो फिल्म प्रतियोगिता आयोजनामा हुने भएको छ। प्रतियोगिताका लागि आवेदन खुला भइसकेको छ।

लामो समययता फिल्म निर्मातालाई समर्थन गर्दै आएको म्युजिक नेपाल र नयाँ फिल्मकर्मी उत्पादन गर्ने नेपाल फिल्म क्याम्पसको सहकार्यमा प्रतियोगिता हुने भएको छ।

प्रतिभाशाली र उदीयमान फिल्मकर्मीलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ।

धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि यस्तो प्रतिस्पर्धा वरदान हुन सक्ने नेपाल फिल्म क्याम्पस प्रमुख शिशिर उप्रेतीले बताए। ‘फिल्म बनाउन धेरै पैसा लाग्छ,’ उनले भने, ‘तर छोटो फिल्म थोरै पैसामा पनि बनाउन सकिन्छ। कथा छ तर पैसा नभएकाहरूसँग हामी काम गर्न तयार छौँ।

प्रतियोगितामा अनुप बराल, सुजित बिडारी र सुरक्षा पन्त निर्णायक रहनेछन्। प्रतियोगितामा सहभागी हुन चाहनेले आगामी फागुन ३० सम्म आवेदन दिनुपर्नेछ। चैत १७ मा फिल्मको पटकथा बुझाउनुपर्नेछ। छनोट भएको पटकथालाई निर्णायकहरूले तीन दिनसम्म प्रशिक्षण दिने आयोजकको भनाइ छ।

छनोट भएका स्क्रिप्टमध्ये १० स्क्रिप्ट छानेर फिल्म निर्माणमा सहायता गरिनेछ। ती १० फिल्मले ७०-७० हजार रुपैयाँ नगद पाउनेछन्।

प्रतियोगितामा पहिलो हुने छोटो फिल्मले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै लेखन, निर्देशन, सम्पादन, छायांकन, साउन्ड र अभिनयमा उत्कृष्ट हुनेले ५० हजार पाउने आयोजकले जनाएका छन्।

प्रकाशित: २९ माघ २०७९ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =