भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल।फाइल तस्बिर
चितवन- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबाससम्बन्धी समस्या यथाशीघ्र समाधान गर्न आवश्यक जनशक्ति थपेर लालपुर्जा वितरण गरिने बताएकी छन्।
जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, अन्य सरोकारवाला तथा भूमि समस्या समाधान समितिका अधिकारीको छलफलपछि उनले लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन आवश्यक जनशक्ति व्यवस्थापन गरिने बताएकी हुन्।
मन्त्री रावलले भनिन्,‘प्राप्त सुझावका आधारमा काम कसरी छिटो गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छौँ। नियम र नीतिका कारण काम रोक्ने वा बाधा अड्काउ हुने अवस्था छैन। जिम्मेवारीमा रहनुभएका व्यक्तिले कति छिटो अगाडि बढाउनुहुन्छ भन्ने विषय नियतमा भर पर्छ।’
मन्त्री रावलले लालपुर्जा वितरणको कामलाई तीव्रता दिन जिल्ला समितिलाई आवश्यक सुझाव दिन आग्रह गरिएको बताइन्।
रावलले आफूले सहकारी पीडित तथा भूमिहीन नागरिकसँग प्रत्यक्ष संवाद गरी स्थानीयका समस्या र गुनासा सुनेको तथा सरकारले गरिरहेका कामबारे उनीहरूलाई जानकारी गराएको बताइन्।



