काठमाडौँ- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले होल्डिङ सेन्टरमा रहेका नागरिकलाई दिगो रुपमा व्यवस्थापन गरिने बताएकी छन्।
सोमबार राष्ट्रियसभा बैठकमा मन्त्री रावलले उपत्यकाका विभिन्न स्थानबाट हटाइ हाल होल्डिङ सेन्टरमा रहेका नागरिकहरुलाई उचित स्थानमा दिगो रुपमा व्यवस्थापन गरिने बताएकी हुन्।
त्यसअघि हालका लागि होल्डिङ सेन्टरमा रहेका नागरिकहरुलाई सहज रुपमा जीवनयापन गर्न सरकारले आवश्यक बजेट व्यवस्था गरिएको उनले बताइन्।
उनले देशभरका भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरिन्। वैज्ञानिक भूमिसुधार र उत्पादनकेन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको समेत उनले बताइन्।
मन्त्री रावलले हालसम्म करिब १२ लाख भूमिहीन र सुकुमवासीको जग्गा प्राप्तिका लागि निवेदन परेको र यसका लागि ६१ करोड ३० लाख बजेट विनियोजन गरिएको जानकारी दिइन्।




