उत्तर कोरियाली नेता किमको चीन भ्रमण

मस्को र वासिङ्टनसँगको सम्बन्धबीच बेइजिङसँग रणनीतिक निकटता बढाउने प्रयासमा किम जोङ

नयाँ यालु नदीको पुल हुँदै चीन पुगे उत्तर कोरियाली नेता 

हिमाल प्रेस ७ कार्तिक २०८३ २१:५० | Saturday, October 24, 2026
12
SHARES
मस्को र वासिङ्टनसँगको सम्बन्धबीच बेइजिङसँग रणनीतिक निकटता बढाउने प्रयासमा किम जोङ

काठमाडौँ- उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको सम्बन्धलाई फेरि प्राथमिकतामा राखेको संकेत दिएका छन्। अमेरिका र दक्षिण कोरियासँगको तनाव, रुससँग बढ्दो सैन्य सहकार्य तथा सम्भावित अमेरिकी वार्ताको पृष्ठभूमिमा किम शनिबार चीन पुगेका हुन्।

किमको चीन भ्रमणको समय निकै अर्थपूर्ण छ। सन् १९५०-१९५३ को कोरियाली युद्धमा चीन उत्तर कोरियाको पक्षबाट लड्न प्रवेश गरेको वार्षिकोत्सवको पूर्वसन्ध्यामा उनी चीन पुगेका हुन्। युद्धकालीन सहकार्यको स्मरणसँगै दुई देशबीचको परम्परागत सम्बन्धलाई पुनः जोड्ने सन्देश यसले दिएको छ। यद्यपि, भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुने वा भएकोबारे शनिबारसम्म आधिकारिक पुष्टि भएको थिएन।

सन् २०२५ को सेप्टेम्बरपछि उनको यो पहिलो चीन भ्रमण हो भने सत्तामा आएपछि चीनको छैटौँ भ्रमण हो। यसले चीन र उत्तर कोरियाबीचको सम्बन्धमा आएको नयाँ निकटता र अमेरिकासँगको सम्भावित कूटनीतिक संवादमा बेइजिङको भूमिकालाई फेरि चर्चामा ल्याएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएको छ।

किमको चीन भ्रमण यसपटक पनि परम्परागत शैलीमा नै सार्वजनिक भयो। जहिले पनि उत्तर कोरियाली नेताको भ्रमण शुरु भएपछि मात्र बाहिर सार्वजनिक हुने गर्छ। कतिपय अवस्थामा भ्रमण सम्पन्न भएपछि मात्र जानकारी पाउन सकिन्छ। उनी शनिबार चीन प्रवेश गरेको खबर दक्षिण कोरियाली सरकारी स्रोतको हवाला दिँदै सञ्चार माध्यमले सार्वजनिक गरेको हो।

चीनको विदेश मन्त्रालय र उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले तत्काल भ्रमणको औपचारिक पुष्टि समेत गरेनन्। तर उनी चीन पुगेको र वार्ता नै थालेको पनि बाहिर आइसकेको छ। किम उत्तर कोरिया र चीनलाई जोड्ने नयाँ यालु नदीको पुल हुँदै सीमावर्ती सहर तान्दोङ पुगेका हुन्।

करिब तीन किलोमिटर लामो यो पुल निर्माण सम्पन्न भएको वर्षौँपछि यही अक्टोबरमा सञ्चालनमा आएको हो। चिनियाँ प्रधानमन्त्री ली छ्याङले तान्दोङमै किमलाई स्वागत गरेको दक्षिण कोरियाली समाचार संस्था योन्हापले जनाएको छ।

चीनसँगको सम्बन्ध किन महत्त्वपूर्ण ?

उत्तर कोरियाका लागि चीन केवल छिमेकी मुलुक होइन, आर्थिक जीवनरेखा र प्रमुख कूटनीतिक बैशाखीको रुपमा कूटनीतिक क्षेत्रमा व्यप्त छ। अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण सीमित बनेको उत्तर कोरियाको वैदेशिक व्यापारमा चीनको ठूलो हिस्सा छ।

खाद्यान्न, ऊर्जा, औद्योगिक सामग्री र व्यापारिक आवागमनका लागि पनि बेइजिङसँगको सम्बन्ध प्योङयाङका लागि महत्त्वपूर्ण रहेको मान्न सकिन्छ। नयाँ यालु नदीको पुल सञ्चालनमा आउनु दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्ने पूर्वाधारका रूपमा हेरिएको छ। भारी उपकरण, कच्चा पदार्थ र ऊर्जा सामग्रीको ढुवानी सहज बनाउन सक्ने यो पुलले उत्तर कोरियाको आर्थिक गतिविधिमा समेत प्रभाव पार्न सक्छ।

पुल सञ्चालनमा आएलगत्तै किमले त्यही मार्ग प्रयोग गर्नु आर्थिक सम्पर्क र द्विपक्षीय सम्बन्ध सुधारप्रति राजनीतिक समर्थन जनाउने कदमका रूपमा बुझ्न सकिन्छ। तर, चीनसँगको सम्बन्ध सधैँ सहज रहेको छैन। कोभिड-१९ महामारीपछि सीमापार आवागमन र व्यापार प्रभावित हुँदा दुई देशबीचको सम्पर्क कमजोर भएको थियो।

त्यस समयमा उत्तर कोरियाले रुससँग सैन्य सहकार्य विस्तार गर्‍यो। रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि मस्को र प्योङयाङबीचको सम्बन्ध थप नजिकिएको छ। उत्तर कोरियाले रुसलाई सैनिक र हतियार सहयोग गरेको विषयले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ।

यस्तो अवस्थामा चीनले उत्तर कोरियामाथिको आफ्नो परम्परागत प्रभाव कायम राख्न चाहनु स्वाभाविक छ। अर्कोतर्फ, किमले चीन र रुस दुवैसँग सम्बन्ध विस्तार गरेर आफ्नो कूटनीतिक विकल्प फराकिलो बनाउन खोजेको हो कि झै पनि देखिन्छ।

बेइजिङसँगको निकटता मस्कोसँगको सम्बन्धको विकल्प नभई त्यसलाई सन्तुलन गर्ने अर्को आधार पनि हुन सक्छ। किम स्विजरल्याण्डमा उच्चशिक्षा लिएका व्यक्ति हुन। उनी राजनीतिक रुपमा पनि खेलाडी झै नै छन्। उनले डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको अन्त्य तिर अमेरिकासँग समेत सिंगापुरमा वार्ता गरेका थिए।

किमका यसअघिका पाँच चीन भ्रमण

किम सन् २०११ मा आफ्ना पिता किम जोङ इलको निधनपछि उत्तर कोरियाको सर्वोच्च नेतृत्वमा आएका थिए। त्यसपछि चीन उनको पहिलो र सबैभन्दा महत्त्वपूर्ण उच्चस्तरीय कूटनीतिक गन्तव्य बन्यो। उनको पहिलो भ्रमण- मार्च २०१८ मा किम उत्तर कोरियाको सर्वोच्च नेतृत्वको रुपमा हिलोपटक चीन पुगे। विशेष रेलबाट बेइजिङ पुगेका उनले राष्ट्रपति सी चिनफिङसँग भेट गरे।

यो भ्रमण दक्षिण कोरिया र अमेरिकासँग सम्भावित वार्ता अघि भएको थियो। दोस्रो भ्रमण- मे २०१८मा चीनको तटीय सहर तालियान पुगेर सीसँग किमले भेट गरेका थिए। कोरियाली प्रायद्वीपमा तनाव कम गर्ने प्रयास भइरहेका बेला उक्त भ्रमण भएको थियो। तेस्रो भ्रमण उनले जुन २०१८मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो शिखर वार्ता हुनुअघि किम बेइजिङ पुगेका थिए। चीनसँग परामर्श र सम्बन्ध सुदृढ गर्ने उनको प्रयासलाई अमेरिकी वार्ताको सन्दर्भबाट पनि हेरिएको थियो।

चौथो भ्रमण भने उनले जनवरी २०१९मा ट्रम्पसँगको दोस्रो शिखर वार्ताको तयारी भइरहेका बेला भएको थियो। उनले अमेिरकासँग वार्ता गर्नुअघि चीनलाई महत्व दिएको सन्देश दिएका हुन कि झै लागेको थियो। उनको पछिल्लो अर्थात पाचौँ भ्रमण गत वर्षको सेप्टेम्बरमा भएको थियो। यो भ्रमण आफैँमा अर्थपूर्ण थियो। उनी छ वर्षभन्दा लामो अन्तरालपछि बेइजिङ पुगेका थिए। उनी दोस्रो विश्वयुद्धमा जापानको पराजयको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजित सैनिक परेडमा सहभागी हुन त्यहाँ पुगेका थिए।

त्यहाँ सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै किमको उपस्थिति रह्यो। यो भ्रमणले चीन, रुस र उत्तर कोरियाबीचको बढ्दो रणनीतिक निकटतालाई विश्वसामु प्रस्तुत गरेको थियो। शनिबारको भ्रमण उनको छैटौँ चीन भ्रमण हो। सन् २०१८ मा तीनपटक, सन् २०१९ मा एकपटक र सन् २०२५ मा एकपटक चीन पुगेका किम त्यसपछि फेरि चीन पुगेका हुन्।

यसपटकको भ्रमणमा सीसँग शिखर वार्ता हुने विषय भने औपचारिक रूपमा बाहिर आएको छैन। किमको तुलनामा सीको उत्तर कोरिया भ्रमण कम भएको छ। सी सन् २०१९ र यही वर्ष सीले प्योङयाङ पुगेका थिए। यसले दुई देशबीचको सम्बन्धमा उच्चस्तरीय सम्पर्क दुवैतर्फबाट अघि बढिरहेको पनि बुझ्न सकिन्छ।

अमेरिकासँगको सम्बन्धमा चीनको भूमिका

किमको चीन भ्रमणलाई अमेरिकासँगको सम्बन्धबाट अलग गरेर हेर्न सकिँदैन। ट्रम्पले उत्तर कोरियासँग पुनः वार्ता सुरु गर्न चासो देखाउँदै आएका छन्। आफ्नो पहिलो कार्यकालमा उनले किमसँग तीनपटक प्रत्यक्ष भेट गरेका थिए। तर, आणविक कार्यक्रम र प्रतिबन्धसम्बन्धी मतभेद समाधान हुन सकेनन्।

उत्तर कोरियाले आफ्नो आणविक क्षमता त्याग्नुपर्ने अमेरिकी मागलाई स्वीकार गरेको छैन। प्योङयाङले अमेरिकाको शत्रुतापूर्ण नीति अन्त्य हुनुपर्ने अडान राख्दै आएको छ। त्यसैले दुई नेताबीच फेरि वार्ता भए पनि त्यसले ठोस परिणाम दिने सुनिश्चितता छैन।

अर्को महिना चीनको सान्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग मञ्चको शिखर सम्मेलनमा ट्रम्प सहभागी हुने अपेक्षा छ। त्यही अवसरमा ट्रम्प र किमबीच भेट हुन सक्ने चर्चा भए पनि अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले त्यस्तो सम्भावना कमजोर हुँदै गएको बताएका छन्।

यस्तो अवस्थामा किमको चीन भ्रमणलाई अमेरिकासँग वार्ताको वातावरण बनाउन बेइजिङको सहयोग खोज्ने प्रयासका रूपमा पनि व्याख्या गर्न सकिन्छ। चीनसँगको सम्बन्ध बलियो हुँदा उत्तर कोरियाले आर्थिक र कूटनीतिक सहारा पाउँछ। त्यसले अमेरिकासँग वार्ता गर्दा आफ्नो अडान कायम राख्न उसलाई थप आत्मविश्वास दिन सक्छ।

तर, चीन र उत्तर कोरियाको निकटता स्वतः अमेरिकाविरोधी औपचारिक सैन्य गठबन्धनमा परिणत भएको निष्कर्ष निकाल्न भने हुँदैन। किनकी त्यो अझै स्पष्ट भएको पाउन सकिएको छैन। बेइजिङका पनि आफ्नै आर्थिक र रणनीतिक स्वार्थ छन्। उसले उत्तर कोरियालाई सहयोग गर्दै गर्दा क्षेत्रीय स्थिरता, दक्षिण कोरिया र जापानसँगको सम्बन्ध तथा अमेरिकासँगको प्रतिस्पर्धालाई पनि ध्यान दिनुपर्छ।

किमको पछिल्लो भ्रमणको महत्त्व यहीँ छ। रुससँग सैन्य सम्बन्ध विस्तार गरिरहेको उत्तर कोरियाले चीनसँगको परम्परागत सम्बन्धलाई फेरि सक्रिय बनाउँदै छ। यसबाट उसले आर्थिक सहयोग, कूटनीतिक समर्थन र अमेरिकी दबाबबीच आफ्नो रणनीतिक स्थान बलियो बनाउन खोजेको देखिन्छ। बेइजिङका लागि पनि प्योङयाङसँगको सम्बन्ध सुदृढ गर्नु उत्तरपूर्वी एसियामा आफ्नो प्रभाव कायम राख्ने माध्यम हो।

यो भ्रमण चीन, रुस र अमेरिकाबीचको प्रतिस्पर्धा तथा कोरियाली प्रायद्वीपको सुरक्षा समीकरणसँग जोडिएको कूटनीतिक कदम हो। तर, यसको वास्तविक परिणाम भने चीनसँग हुने उच्चस्तरीय वार्ता, आर्थिक सहकार्यका ठोस निर्णय र अमेरिकासँग संवाद पुनः सुरु हुन्छ कि हुँदैन भन्ने विषयले नै निर्धारण गर्नेछ।

प्रकाशित: ७ कार्तिक २०८३ २१:५० | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast