शरद् ऋतुमा वातावरण शान्त र सफा हुँदै जाँदा आउँने चाडबाडलाई हामी आफ्नो प्रतिष्ठासँग दाँजेर हेर्छौं। यसैबेला जमरा तथा फूलको महत्त्व पनि बढ्दछ। यसबाहेक अरू बेला पनि घरका कुनाकाप्चादेखि सुत्ने कोठामै बोटबिरुवा राख्ने प्रचलन पनि बढेकै छ। घरभित्र केही निश्चित प्रजातिका विरुवा राख्नाले हाम्रो स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने तथ्य अध्ययनहरूले उजागर गरेका छन्।
आधुनिक जीवनशैलीले मानिसलाई प्रकृतिबाट क्रमशः टाढा लगिरहेको छ। सहरका अग्ला भवन, साँघुरा आवास, बन्द कोठा, वातानुकूलित कार्यालय र लामो समयसम्म पर्दा अगाडि बिताउनुपर्ने दैनिकीले मानिसको प्रकृतिसँगको प्रत्यक्ष सम्पर्क घटाएको छ। यस्तो अवस्थामा घरभित्र बिरुवा हुर्काउने अभ्यास केवल सजावटको विषय होइनस यो मानिसको वातावरण, मानसिक स्वास्थ्य र प्रकृतिसँगको सम्बन्धलाई पुनःस्थापित गर्ने एउटा सरल माध्यम पनि हो।
घरको झ्यालछेउमा राखिएको हरियो बिरुवा, बैठक कोठाको कुनामा फैलिएको मनी प्लान्ट वा कार्यकक्षमा सजाइएको सर्पपाते वा पानी अमलाको विरुवाले कोठाको दृश्यलाई आकर्षक बनाउनुका साथै मानिसलाई प्राकृतिक वातावरणको अनुभूति दिन सक्छन्। बिरुवाको नियमित हेरचाह, नयाँ पालुवा पलाएको देख्नु, पातको रङ र आकार नियाल्नु तथा माटोमा पानी हाल्नुजस्ता सामान्य क्रियाकलापले दैनिक जीवनमा प्रकृतिसँगको सम्बन्ध कायम राख्न मद्दत गर्छन्।
घरभित्रका बिरुवालाई मात्र चामत्कारिक औषधि वा हावाका सबै प्रदूषक हटाउने प्राकृतिक यन्त्रका रूपमा बुझ्नु उचित हुँदैन। तिनको वास्तविक उपयोगिता बुझ्न मनोविज्ञान, वातावरणीय विज्ञान, वनस्पतिशास्त्र र सार्वजनिक स्वास्थ्यका निष्कर्षलाई सँगसँगै हेर्न आवश्यक छ। घरभित्र ससाना बोटविरुवा राख्नु घरको सजावट गर्ने उपाय मात्र नभई यस कार्यले हाम्रो मानसिक स्वास्थ्य, भावनात्मक अवस्था र घरको वातावरणसँग पनि सम्बन्ध राख्न सक्छ। सहरको व्यस्त जीवन, बढ्दो मानसिक तनाव र प्रकृतिसँग घट्दो सम्पर्कका बीच घरभित्र हरियाली कायम गर्नु स्वस्थ जीवनशैलीको एउटा उपयोगी पक्ष हुन सक्छ।
यद्यपि घरभित्र बिरुवा राख्दैमा सबै स्वास्थ्य समस्या समाधान हुन्छन् वा घरको हावा पूर्ण रूपमा शुद्ध हुन्छ भन्ने निष्कर्षमा पुग्नु उचित हुँदैन। यस विषयमा भएका वैज्ञानिक अनुसन्धानले सम्भावित लाभ र सीमितता दुवै देखाएका छन्।
मानसिक स्वास्थ्यमा घरभित्रका बिरुवाको प्रभाव
घरभित्रका बिरुवाले मानिसलाई प्रकृतिसँग जोडिएको अनुभूति गराउन सक्छन्। हरियाली हेर्नु, बिरुवामा पानी हाल्नु, तिनको वृद्धि नियाल्नु र हेरचाह गर्नु दैनिक जीवनमा शान्ति तथा सन्तुष्टिको अनुभव दिने गतिविधि हुन सक्छन्। विशेषगरी लामो समय घरभित्र वा कार्यालयमा बिताउने मानिसका लागि बिरुवाले वरपरको वातावरणलाई बढी जीवन्त र सहज बनाउन सक्छन्।
ताइवानको ताइचुङस्थित नेसनल युनिभर्सिटी अफ टेक्नोलोजीका केत्सुङ हान, लिवेन रुआन र लिसिह लियाओले २०२२ मा घरभित्र राखिएका बिरुवाले मानव स्वास्थ्य तथा व्यवहारमा पार्ने प्रभावबारे उपलब्ध अनुसन्धानहरूको व्यवस्थित समीक्षा र विश्लेषण गरेका छन्। उनीहरूको अध्ययनले घरभित्रका बिरुवासँग सम्बन्धित केही मनोवैज्ञानिक तथा शारीरिक लाभका सम्भावना देखाए पनि ती लाभको प्रभावकारिता र स्थायित्वबारे थप अनुसन्धान आवश्यक रहेको संकेत गर्छ।
यसैगरी जर्मनीको म्युनिखस्थित लुडविग म्याक्सिमिलियन युनिभर्सिटी अफ म्युनिखका चिकित्सकहरु तियान्यु झाओ, इआना मार्केभिच, दोरोटा बुच्योलोस्का, मार्सेल रोमानोस र योआखिम हाइनरिखले २०२३ मा गरेको अर्को अनुसन्धानले घरभित्रका बिरुवा र मानसिक स्वास्थ्यबीचको सम्बन्धबारे महामारी विज्ञान जोडेका छन्। यसले घरभित्रको हरियाली र मानसिक स्वास्थ्यबीच सम्भावित सम्बन्ध रहेको देखाउँछ। तर यस्तो सम्बन्ध देखिनु मात्रले बिरुवाले नै मानसिक स्वास्थ्यमा सुधार गराएको प्रमाणित हुँदैन। मानिसको जीवनशैली, घरको अवस्था, सामाजिक सम्बन्ध र प्रकृतिसँगको समग्र सम्पर्कले पनि यसमा प्रभाव पार्न सक्छन्।
तनाव घटाउन बिरुवाको भूमिका
आधुनिक जीवनमा तनाव एउटा सामान्य समस्या बनेको छ। कामको चाप, आर्थिक अनिश्चितता, पारिवारिक जिम्मेवारी र डिजिटल उपकरणको अत्यधिक प्रयोगले मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पार्न सक्छ। यस्तो अवस्थामा प्रकृतिसँगको सम्पर्कले आराम र मानसिक पुनर्ताजगीका लागि सहयोग पुर्याउन सक्छ।
दक्षिण कोरियाको छुङनाम राष्ट्रिय विश्वविद्यालय कृषि, जीवन तथा बागवानी विज्ञान विभागका प्राध्यापक मिन सुन ली, जुयङ ली र योसिफुमी मियाजाकी तथा त्यहींको छुङनाम राष्ट्रिय विश्वविद्यालय, कृषि तथा जीवन विज्ञान विभागका प्राध्यापक बम जिन पार्कले २०१५ मा घरभित्रका बिरुवासँग प्रत्यक्ष सम्पर्कमा रहेका र नियमित रुपमा कम्प्युटरमा काम गर्दा उत्पन्न तनावसँग सम्बन्धित केही मनोवैज्ञानिक तथा शारीरिक प्रतिक्रियामा सकारात्मक परिवर्तन देखिएको थियो। यसका लागि उनीहरुले २४ जना युवा कम्प्युटर विज्ञहरुबीच अनुसन्धान गरेका थिए।
अनुसन्धानकर्ताहरूले बिरुवासँग प्रत्यक्ष सम्पर्कले स्वायत्त स्नायु प्रणालीको गतिविधि शान्त पार्न सक्ने सम्भावना औँल्याएका छन्। यद्यपि यो अध्ययन सानो समूहमा गरिएको थियो। त्यसैले यसबाट सबै उमेर, स्वास्थ्य अवस्था र सामाजिक परिवेशका मानिसमा समान प्रभाव पर्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन। तर बिरुवाको हेरचाहलाई दैनिक जीवनमा सानो विश्राम, सचेतन अभ्यास र प्रकृतिसँगको सम्पर्कका रूपमा समावेश गर्नु उपयोगी हुन सक्छ।
घरभित्रका बिरुवा र हावाको गुणस्तर
घरभित्र बिरुवा राख्ने लोकप्रिय कारणमध्ये एउटा हावा शुद्ध बनाउने विश्वास पनि हो। कतिपय बिरुवाले प्रयोगशालामा केही वायु प्रदूषक पदार्थ सोस्न सक्ने देखिएको छ। तर प्रयोगशालामा देखिएको प्रभाव वास्तविक घर वा कार्यालयमा पनि उत्तिकै प्रभावकारी हुन्छ भन्ने आवश्यक छैन।
अमेरिकाको फिलाडेल्फियास्थित ड्रेक्सेल विश्वविद्यालय सिभिल, वास्तुकला तथा वातावरणीय इन्जिनियरिङ विभागका ब्रायन ई कमिङ्स र माइकल एस वारिङको अनुसन्धानले गमलामा हुर्काइएका बिरुवाले घरभित्रको हावामा रहेका वाष्पशील जैविक रासायनिक पदार्थ हटाउने क्षमतासम्बन्धी रमख्दछन् तर घर वा कार्यालयमा राखिएको दुईचारवटा गमलाका बिरुवाले नै हावाको गुणस्तर उल्लेखनीय रूपमा सुधार गर्ने दाबी पर्याप्त नहुन सक्छ।
अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासा जोन सी स्टेनिस स्पेस सेन्टरका अनुसन्धानकर्ताहरू बीसी वोल्भर्टन, विलार्ड एल, डगलस र किथ बाउन्ड्सले सन् १९८९ मा प्रकाशित अनुसन्धानले घरभित्रका सजावटी बिरुवाले वायु प्रदूषक घटाउन सक्ने सम्भावना उल्लेख छ। उनीहरुले यस विषयमा थप अनुसन्धान आवश्यक रहेको औँल्याएका छन्। घरभित्रको हावा स्वस्थ राख्न नियमित हावाप्रवाह, प्रदूषणका स्रोत नियन्त्रण, आवश्यकताअनुसार उपयुक्त वायु शुद्धीकरण उपकरणको प्रयोग र भान्सा तथा अन्य प्रदूषण हुने स्थानमा उचित निकासको व्यवस्था बढी महत्त्वपूर्ण हुन्छ।
आर्द्रता र घरभित्रको वातावरण
बिरुवाले बाफ उत्सर्जन प्रक्रियामार्फत वातावरणमा जलवाष्प छोड्छन्। त्यसैले केही अवस्थामा तिनले घर वा कार्यालयको सापेक्षिक आर्द्रतामा प्रभाव पार्न सक्छन्। तर यसको परिणाम बिरुवाको प्रजाति, संख्या, कोठाको आकार, तापक्रम, हावाप्रवाह र पानीको उपलब्धतामा निर्भर हुन्छ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटीका जियाङ, जुनझिवेई र गिबन्स, फिलिप तथा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका अनुसन्धाजकर्ता इर्गा, पिटर र स्ट्याक्ड फारले २०२४ मा गरेको अनुसन्धानले घरभित्रका बिरुवाले कार्बन डाइअक्साइडको मात्रा, तापक्रम र सापेक्षिक आर्द्रतामा प्रभाव पार्दछ भन्ने तथ्य स्थापित छ।
उनीहरूको अनुसन्धानले केही परिस्थितिमा बिरुवाले आर्द्रतामा प्रभाव पार्न सक्ने देखाएको छ। विशेषगरी बोस्टन फर्नजस्ता बिरुवाले अध्ययन गरिएका अवस्थामा आर्द्रता बढाउन सहयोग गरेको पाइएको थियो। तर धेरै आर्द्रता भएको कोठामा अत्यधिक बिरुवा राख्नु सधैँ उपयुक्त हुँदैन। बढी चिस्यानले ढुसीको वृद्धि र अन्य आर्द्रतासम्बन्धी समस्या निम्त्याउन सक्छ। त्यसैले बिरुवाको संख्या निर्धारण गर्दा कोठाको आकार, हावाप्रवाह र स्थानीय जलवायुको अवस्थालाई ध्यान दिनुपर्छ।
घरभित्र राख्न सकिने उपयोगी बिरुवा
घरको सजावट, हेरचाहको सहजता र उपलब्ध प्रकाशअनुसार विभिन्न बिरुवा छनोट गर्न सकिन्छ।
बोस्टन फर्न अथवा पानीअमला : ओसिलो वातावरण मन पराउने यो बिरुवा अप्रत्यक्ष प्रकाशमा राम्रोसँग हुर्कन सक्छ। यसको पातले घरभित्र हरियाली र प्राकृतिक सौन्दर्य थप्छ।

स्नेक प्लान्ट : कम प्रकाशमा पनि बाँच्न सक्ने र तुलनात्मक रूपमा कम हेरचाह चाहिने भएकाले कार्यालय तथा घरका लागि उपयुक्त हुन सक्छ। तर कम प्रकाश सहनु र प्रकाश नै नचाहिनु भिन्न कुरा हुन्।

पिस लिली : पहाडी जंगलमा पाइने धोबी फूल जस्तै देखियो यो विरुवा हरिया पात र सेता फूलका कारण लोकप्रिय यो बिरुवा अप्रत्यक्ष प्रकाशमा हुर्कन सक्छ। तर यो बिरुवा बिरालो र कुकुरका लागि विषाक्त हुन सक्ने भएकाले घरपालुवा जनावर भएका परिवारले सावधानी अपनाउनुपर्छ।

गोल्डेन पोथोस वा मनी प्लान्ट : झुन्डिने वा फैलिने प्रकृतिको यो बिरुवा घर तथा कार्यालय सजाउन उपयोगी छ। तर यसलाई पनि घरपालुवा जनावरको पहुँचबाट टाढा राख्नु उचित हुन्छ।

स्पाइडर प्लान्ट : यसको लामा, आकर्षक पात र सजिलो हेरचाहका कारण घरभित्र राख्न सकिन्छ। पर्याप्त अप्रत्यक्ष प्रकाश र सन्तुलित पानी यसका लागि उपयोगी हुन्छ।

यी बिरुवा छनोट गर्दा तिनले हावा शुद्ध पार्छन् भन्ने दाबी मात्र आधार बनाउनु हुँदैन। बिरुवाको वास्तविक उपयोगिता, घरमा उपलब्ध प्रकाश, पानीको व्यवस्थापन, सम्भावित विषाक्तता र हेरचाहको आवश्यकतालाई समेत विचार गर्नुपर्छ।
सचेतन अभ्यास र बिरुवाको हेरचाह
बिरुवाको हेरचाहलाई सचेतन अभ्याससँग जोड्न सकिन्छ। बिहान केही मिनेट बिरुवाका पात नियाल्ने, माटोको चिस्यान जाँच्ने, आवश्यकताअनुसार पानी हाल्ने र नयाँ पालुवा कसरी बढिरहेको छ भन्ने ध्यानपूर्वक हेर्ने अभ्यासले मानिसलाई वर्तमान क्षणमा केन्द्रित हुन मद्दत गर्न सक्छ। यस्तो अभ्यासका लागि विशेष उपकरण वा ठूलो ठाउँ आवश्यक पर्दैन। एउटा सानो गमला, उपयुक्त प्रकाश र नियमित हेरचाहबाट पनि प्रकृतिसँगको सम्बन्धलाई दैनिक जीवनमा समावेश गर्न सकिन्छ। तर यसलाई चिकित्सकीय उपचारको विकल्पका रूपमा होइन, स्वस्थ जीवनशैलीलाई सहयोग गर्ने एउटा अभ्यासका रूपमा लिनुपर्छ।
घरभित्रका बिरुवाले हाम्रो आवासीय वातावरणलाई सुन्दर, जीवन्त र प्रकृतिसँग नजिक बनाउन सक्छन्। वैज्ञानिक अध्ययनहरूले बिरुवासँगको अन्तरक्रियाले तनाव कम गर्न र मानसिक स्वास्थ्यका केही पक्षमा सहयोग पुर्याउन सक्ने सम्भावना देखाएका छन्। केही बिरुवाले निश्चित परिस्थितिमा घरभित्रको आर्द्रतामा पनि प्रभाव पार्न सक्छन्। तर सामान्य घरमा केही गमला राख्दैमा हावाका प्रदूषक पदार्थ उल्लेखनीय रूपमा हट्छन् भन्ने पर्याप्त प्रमाण छैन।
त्यसैले घरभित्र हरियाली बढाउने प्रयासलाई स्वच्छ हावा, पर्याप्त प्रकाश, उचित हावाप्रवाह, शारीरिक गतिविधि, स्वस्थ खानपान र मानसिक स्वास्थ्यको हेरचाहसँग जोड्नु आवश्यक छ। बिरुवालाई केवल सजावटका वस्तुका रूपमा होइन, प्रकृतिसँगको सम्बन्ध कायम राख्ने र दैनिक जीवनमा सचेतनाका क्षण सिर्जना गर्ने माध्यमका रूपमा लिन सकिन्छ।





