प्रहरीको नि:शुल्क बस सेवाबाट सर्वसाधारण लाभान्वित

हिमाल प्रेस ५ कार्तिक २०८३ १७:३० | Thursday, October 22, 2026
10
SHARES
प्रहरीको नि:शुल्क बस सेवाबाट सर्वसाधारण लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्।

दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ।

नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट एक हजार ४०६ जना नागरिक लाभान्वित भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा तीन वटा बस निःशुल्क सञ्चालन गरिएका थिए। महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले उक्त सेवा लिएका थिए।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट बुधबारसम्म दुई हजार १७९ जना सर्वसाधारण लाभान्वित भएका छन्। सशस्त्र प्रहरीले गत सोमबारदेखि दुई वटा बसमार्फत सञ्चालन गरेको सेवा शुक्रबारसम्म जारी रहने जनाएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सोमबार ४५० जना, मंगलबार ६१६ जना र बुधबार अर्थात् विजयादशमीका दिन एक हजार ११३ जना नागरिकले निःशुल्क बस सेवा लिएका थिए।

सहायक प्रवक्ता थापाले सोमबारदेखि सुरु भएको निःशुल्क बस सेवा शुक्रबारसम्म सञ्चालन हुने जानकारी दिँदै बिहीबार पनि सेवा जारी रहेको बताए।

दसैँका समयमा टीका थाप्न जाने यात्रुलाई बिनाशुल्क सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने उद्देश्यले केही वर्षदेखि सञ्चालन हुँदै आएको दुई प्रहरी संगठनको निःशुल्क बस सेवाबाट नागरिक लाभान्वित भएको र सार्वजनिक यातायातका सवारीसाधनले मनपरी भाडा असुल्नेक्रम रोकिएको आमसर्वसाधारणको भनाइ छ।

प्रकाशित: ५ कार्तिक २०८३ १७:३० | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast