रात्रिकालीन बस : काठमाडौँ महानगरको यो कस्तो लापरबाही?

बद्रीप्रकाश ओझा २ कार्तिक २०८३ १३:३८ | Monday, October 19, 2026
14
SHARES
रात्रिकालीन बस : काठमाडौँ महानगरको यो कस्तो लापरबाही? एआईको सहयोगमा तयार पारिएको तस्बिर।

फूलपातीको दिन साँझ ढलिसकेको थियो। जयबागेश्वरीमा एक पुरुषले ट्राफिक प्रहरीसँग केही सोधे। प्रहरीको हाउभाउ र जवाफबाट बस नपाइने संकत पाएपछि उनी फर्किए र समूहमा कुरा राखे। त्यसपछि यात्रुबीच कोलाहल सुरु भयो। एउटी महिला जङ्गिँदै अघि बढिन् र फेरि ट्राफिक प्रहरीलाई सोधिन्, ‘होइन, राति बस चल्छ भन्या होइन?’

प्रहरीले जवाफ दिए, ‘हो हजुर, तर अन्तिम बस पनि गइसक्यो।’

‘यस्ता हुतिहारले के गरिखालान्! यस्ताको भरोसा गर्ने हामी पनि उस्तै। मैले त अघि नै जाऊँ भनेकी नि! आफूलाई खुब जान्ने भएर आरती सुन्न बसे। अब खाओ!’ महिला बरबराउन थालिन्।

घटना जयबागेश्वरीको हो। पशुपतिनाथको दर्शन गरेर घर फर्किने आशामा रहेका यात्रु एकाएक अलमलमा परे। अब कहाँ जाने? कसरी घर पुग्ने? ट्राफिक प्रहरीले ट्याक्सी वा राइडर सेवा लिन सुझाव दिए। तर ती यात्रुसँग त्यति धेरै पैसा थिएन कि! सार्वजनिक यातायातकै भरमा घर फर्किने आशा बोकेर आएका उनीहरूका लागि त्यो क्षण कति निराशाजनक भयो होला!

कल्पना गरौँ, दिनभरि मजदुरी गरेर थाकेको श्रमिक, अस्पतालमा बिरामी कुरेर फर्किएको आफन्त, पसल बन्द गरेर घर जान लागेका साना व्यवसायी, साँझको पालीमा काम गर्ने कर्मचारी वा धार्मिक स्थलबाट फर्किरहेका ज्येष्ठ नागरिकले पनि यस्तै अवस्था भोग्नुपर्‍यो भने के गर्ने? सबैसँग निजी सवारीसाधन हुँदैन। ट्याक्सीको भाडा तिर्ने आर्थिक क्षमता पनि हुँदैन। राइडर सेवामा खर्च गर्न सक्ने अवस्था नहुन सक्छ। उनीहरूका लागि सार्वजनिक बस सुविधाको साधन मात्र होइन, दैनिक जीवन चलाउने आधार हो।

जयबागेश्वरीको घटना एउटा यात्रुको असुविधामा सीमित छैन। यसले काठमाडौँ महानगरपालिकाको रात्रिकालीन बस सेवाको वास्तविक अवस्था, सञ्चालनको प्रभावकारिता र नागरिकप्रतिको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ।

साँच्चिकै रात्रिकालीन सेवा कि नाम मात्रैको?

काठमाडौँ महानगरपालिकाले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने घोषणा गर्दा धेरै नागरिकले त्यसलाई सकारात्मक रूपमा लिएका थिए। साँझ परेपछि पनि सार्वजनिक यातायात उपलब्ध हुने, राति अबेरसम्म काम गर्ने मानिसले सुरक्षित रूपमा घर फर्किन पाउने र निजी सवारीसाधन नभएकालाई सहज हुने अपेक्षा गरिएको थियो।

तर रात्रिकालीन बस सेवा भनेको आखिर कति बजेसम्म चल्ने बस हो? कुनकुन मार्गमा सेवा उपलब्ध छ? अन्तिम बस कति बजे छुट्छ? बसको प्रतीक्षामा रहेका यात्रुले वास्तविक समयतालिका कहाँ हेर्न सक्छन्? घोषित समयभन्दा अगाडि सेवा बन्द भयो भने जिम्मेवार निकाय को हो?

यी सामान्य प्रश्न हुन्। तर सार्वजनिक सेवा सञ्चालनमा यिनको स्पष्ट उत्तर हुनुपर्छ।

रात्रिकालीन बसको नाम दिएपछि त्यसको सेवा समय यात्रुको वास्तविक आवश्यकताअनुसार निर्धारण गर्नुपर्छ। सेवा राति आठ बजे नै समाप्त हुन्छ भने त्यसलाई रात्रिकालीन सेवा भन्नुको औचित्यबारे महानगरले स्पष्ट पार्नुपर्छ। आठ बजेपछि पनि सेवा उपलब्ध हुने घोषणा गरिएको हो भने जयबागेश्वरीमा यात्रुले भोगेको अवस्था किन आयो भन्ने विषयमा छानबिन हुनुपर्छ।

एउटा घटनाका आधारमा महानगरका सबै रात्रिकालीन बस अव्यवस्थित छन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन। तर एउटा नागरिकले सार्वजनिक सेवा उपयोग गर्न खोज्दा भोग्नुपरेको समस्या पनि बेवास्ता गर्न मिल्दैन।

बुझ्झकी बुहारीलाई बाटो छोड् भन्नुपर्दैन भनेझैँ सार्वजनिक सेवा सञ्चालन गर्ने निकायले आफ्नो जिम्मेवारी आफैँ बुझ्नुपर्छ। सेवाको नाम दिएर बस चलाउन थाल्दैमा दायित्व पूरा हुँदैन। बस चढ्नुपर्ने समयमा बसै नपाएपछि यात्रुले महानगरको घोषणाको अर्थ खोज्ने कि घर पुग्ने उपाय?

सार्वजनिक सेवाको गुणस्तर उद्घाटन, घोषणा र प्रचारले होइन, त्यसको नियमित सञ्चालनले मापन हुन्छ। निर्धारित समयसम्म बस चले कि चलेनन्, यात्रुले कति समय कुर्नुपर्‍यो, अन्तिम गाडी छुटेपछि वैकल्पिक व्यवस्था थियो कि थिएन र सेवासम्बन्धी सूचना पर्याप्त थियो कि थिएन भन्ने तथ्यले मात्र वास्तविक अवस्था देखाउँछन्।

संघीयता कार्यान्वयनसँगै स्थानीय तहलाई सहरी सेवा व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ। अपाङ्गतामैत्री यातायातको आवश्यकता पनि त्यही जिम्मेवारीको हिस्सा हो। तर छिटपुट अपवादबाहेक अधिकांश सार्वजनिक सवारीसाधन अपाङ्गतामैत्री छैनन्। सार्वजनिक यातायातमा पहुँच, नियमितता र सहजताका आधारभूत प्रश्नसमेत समाधान हुन नसकेको अवस्थामा महानगरको सेवा व्यवस्थापनमाथि प्रश्न उठ्नु स्वाभाविक हो।

महानगर नेतृत्व दोस्रो कार्यकालको अन्तिम संघारमा पुग्दासमेत आधारभूत स्वास्थ्य, शिक्षा र यातायात व्यवस्थापनका प्रश्न बाँकी छन्। ससाना उपलब्धिलाई सामाजिक सञ्जालमा छरेर उपलब्धिको बखान गर्नु सजिलो छ। तर नागरिकले आवश्यक परेको समयमा सेवा पाए कि पाएनन् भन्ने प्रश्नको उत्तर दिनु त्यसभन्दा कठिन छ। महानगरले दोस्रो काममा कति ध्यान दिएको छ भन्ने कुरा नागरिकको अनुभवले देखाउँछ।

संसारका ठूला सहरले रात्रिकालीन यातायातलाई कसरी हेर्छन्?

काठमाडौँले रात्रिकालीन यातायात व्यवस्थापन गर्दा अन्य सहरका अभ्यासबाट सिक्न सक्छ। विभिन्न सहरले आफ्नो जनसङ्ख्या, यात्रुको माग, यातायात संरचना र आर्थिक क्षमताअनुसार फरक व्यवस्था अपनाएका छन्। सबै सहरमा चौबीसै घण्टा एउटै प्रकारको सेवा सञ्चालन हुँदैन। तर प्रभावकारी सहरहरूले रातिको यातायातलाई स्पष्ट समयतालिका, निश्चित मार्ग र यात्रुलाई जानकारी दिने प्रणालीसँग जोड्ने प्रयास गरेका छन्।

नयाँदिल्ली : छुट्टै समयतालिका र स्पष्ट सूचना

भारतको राजधानी नयाँदिल्लीमा दिल्ली ट्रान्सपोर्ट कर्पोरेसन (डीटीसी) ले आफ्नो आधिकारिक वेबसाइटमा बस सेवासम्बन्धी समयतालिका उपलब्ध गराउँछ। रात्रिकालीन सेवाका मार्ग र समयबारे स्पष्ट जानकारी उपलब्ध गराउनु सार्वजनिक यातायात व्यवस्थापनको महत्त्वपूर्ण पक्ष हो।

काठमाडौँले दिल्लीको अभ्यासबाट सिक्नुपर्ने मुख्य कुरा रात्रिकालीन बस सञ्चालन गर्नु मात्र होइन, कुन मार्गमा कुन समयमा बस पाइन्छ भन्ने जानकारी नागरिकलाई स्पष्ट रूपमा उपलब्ध गराउनु पनि हो। समयतालिका सार्वजनिक भए यात्रुले आफ्नो यात्रा योजना बनाउन सक्छन्। सेवा छुट्यो कि छुटेन भन्ने विषयमा अनुगमन गर्न पनि सजिलो हुन्छ।

कोलकाता : चाडपर्वमा यात्रुको चापअनुसार विशेष व्यवस्था

भारतको कोलकातामा दुर्गापूजाका बेला पण्डाल घुम्ने लाखौँ मानिसको आवागमनलाई ध्यानमा राखेर विशेष यातायात व्यवस्था गरिन्छ। प्रमुख मेट्रो मार्गमा सेवा विस्तार, अतिरिक्त रेल र अन्य विशेष व्यवस्थाले चाडपर्वको यात्रु चाप व्यवस्थापन गर्न मद्दत गर्छन्।

काठमाडौँका लागि यो अभ्यास विशेष सान्दर्भिक छ। फूलपाती, महाअष्टमी, नवमी, शिवरात्रि र अन्य ठूला धार्मिक अवसरमा पशुपतिनाथ, स्वयम्भू, बौद्धलगायतका धार्मिक स्थलमा यात्रुको चाप बढ्छ। यस्तो समयमा सामान्य दिनको समयतालिकाले मात्र यात्रुको माग धान्न नसक्ने हुन सक्छ।

त्यसैले महानगरले चाडपर्वमा सम्भावित यात्रु चापको पूर्वानुमान गरेर अतिरिक्त बस, विस्तारित सेवा समय र प्रमुख धार्मिक स्थलबाट आवासीय क्षेत्रसम्मको यातायात व्यवस्था गर्नुपर्छ। धार्मिक आस्थाको सम्मान गर्नु भनेको पूजा व्यवस्थापन गर्नु मात्र होइन, दर्शन गरेर फर्किने नागरिकलाई घर पुग्ने व्यवस्था गर्नु पनि हो।

मुम्बई : राति काम गर्ने नागरिकका लागि यातायात

भारतको आर्थिक राजधानी मुम्बईमा बृहनमुम्बई विद्युत् आपूर्ति तथा यातायातले सञ्चालन गर्ने बस सेवा सहरी यातायातको महत्त्वपूर्ण हिस्सा हो। राति काम गर्ने श्रमिक, स्वास्थ्यकर्मी, होटल तथा रेस्टुरेन्टका कर्मचारी र अन्य यात्रुको आवागमनका लागि सार्वजनिक यातायातको उपलब्धता महत्त्वपूर्ण हुन्छ।

मुम्बईको अनुभवले काठमाडौँलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ- महानगरको जीवन कार्यालय समय सकिएपछि समाप्त हुँदैन। राति काम गर्ने नागरिकलाई पनि सुरक्षित, भरपर्दो र आर्थिक रूपमा सुलभ यातायात चाहिन्छ।

काठमाडौँले पनि यात्रुको वास्तविक मागअनुसार प्रमुख मार्गमा रात्रिकालीन बस सेवा विस्तार गर्न र निश्चित समयतालिका लागू गर्न सक्छ। कुन मार्गमा कति सेवा आवश्यक छ भन्ने निर्णय भने सम्बन्धित मार्गको यात्रु माग र आधिकारिक समयतालिकाका आधारमा गर्नुपर्छ।

टोरन्टो : रातभरि जोडिने यातायात सञ्जाल

क्यानडाको टोरन्टोमा टोरन्टो ट्रान्जिट कमिसनले ‘ब्लु नाइट नेटवर्क’ नामको रात्रिकालीन यातायात सञ्जाल सञ्चालन गर्छ। यसअन्तर्गत प्रमुख मार्गमा राति करिब १:३० बजेदेखि बिहानको रेल सेवा सुरु नहुँदासम्म बस वा सडक रेल सेवा उपलब्ध हुन्छ। सामान्यतः सेवा प्रत्येक ३० मिनेट वा त्यसभन्दा कम अन्तरालमा सञ्चालन गर्ने व्यवस्था छ।

यस अभ्यासको महत्त्व के हो भने रात्रिकालीन यातायातलाई एउटै बसको प्रतीकात्मक सञ्चालनमा सीमित नराखी प्रमुख मार्गहरू जोड्ने सञ्जालका रूपमा विकास गरिएको छ।

काठमाडौँले पनि सबै सडकमा रातभरि बस चलाउनुपर्छ भन्ने होइन। यात्रुको माग, आर्थिक स्रोत र सुरक्षा अवस्थालाई ध्यानमा राखेर प्रमुख मार्गमा नियमित सेवा दिन सकिन्छ। उदाहरणका लागि अस्पताल, बसपार्क, धार्मिक स्थल, व्यापारिक क्षेत्र र घना आवासीय बस्ती जोड्ने प्राथमिक मार्गबाट सेवा विस्तार गर्न सकिन्छ।

तर सेवा सञ्चालन भएपछि समयतालिका निश्चित हुनुपर्छ। यात्रुले राति नौ बजे बस पाइन्छ कि पाइँदैन भन्ने विषयमा अनुमान लगाउनुपर्ने अवस्था रहनु हुँदैन।

न्युयोर्क : आवश्यकताअनुसार चौबीसै घण्टा सेवा

अमेरिकाको न्युयोर्कमा सार्वजनिक यातायात सञ्चालन गर्ने मेट्रोपोलिटन ट्रान्सपोर्टेसन अथोरिटी (एमटीए) ले रातिको समयमा पनि बस सेवा उपलब्ध गराउँछ। उदाहरणका लागि ब्रोंक्सको बीएक्स२९ बस मार्गको प्रकाशित समयतालिकामा साताका सबै दिन चौबीसै घण्टा सेवा उपलब्ध हुने उल्लेख छ।

न्युयोर्कको उदाहरणले प्रत्येक मार्गमा एउटै समयतालिका लागू गर्नुपर्छ भन्ने देखाउँदैन। बरु यात्रुको आवश्यकता र मार्गको महत्त्वअनुसार सेवा समय निर्धारण गर्न सकिन्छ भन्ने देखाउँछ।

काठमाडौँमा पनि विमानस्थल, प्रमुख अस्पताल, बसपार्क, ठमेलजस्ता राति चहलपहल हुने क्षेत्र र प्रमुख आवासीय बस्ती जोड्ने मार्गमा रात्रिकालीन सेवा आवश्यक हुन सक्छ। कुन मार्गमा कति माग छ भन्ने निर्णय अनुमानका आधारमा होइन, यात्रुको तथ्याङ्क, सर्वेक्षण र वास्तविक आवश्यकताका आधारमा गर्नुपर्छ।

रातिको यातायातमा नियमितता र सही सूचना झनै महत्त्वपूर्ण हुन्छ। बस छुटेपछि अर्को बस कहिले आउँछ भन्ने थाहा नपाउने अवस्था यात्रुको असुविधा मात्र होइन, सुरक्षासँग जोडिएको विषय पनि हो।

लन्डन : सुरक्षित घरफिर्तीको व्यवस्था

बेलायतको राजधानी लन्डनमा ट्रान्सपोर्ट फर लन्डनले चौबीसै घण्टा सञ्चालन हुने रात्रिकालीन बस सेवा उपलब्ध गराउँछ। यात्रुले आफ्नो मार्ग वा बस बिसौनीअनुसार अर्को बस कहिले आउँछ भन्ने जानकारी लिन सक्छन्। रातिको यातायातमा यात्रुको सुरक्षा, निगरानी र सहायता व्यवस्थालाई पनि महत्त्व दिइन्छ।

यस अभ्यासले रात्रिकालीन यातायातको उद्देश्य मानिसलाई एउटा ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउनु मात्र होइन, सुरक्षित रूपमा घर फर्किने वातावरण बनाउनु पनि हो भन्ने देखाउँछ।

काठमाडौँमा पनि राति बस सञ्चालन गर्दा यात्रुको सुरक्षालाई प्राथमिकता दिनुपर्छ। बस बिसौनीमा पर्याप्त प्रकाश, स्पष्ट मार्गसूचना, चालक तथा सहचालकको उत्तरदायित्व, गुनासो गर्ने माध्यम र आवश्यकताअनुसार ट्राफिक प्रहरीसँग समन्वय हुनुपर्छ।

विशेषगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकासँग यात्रा गर्ने परिवारका लागि रातिको सार्वजनिक यातायात सहज र सुरक्षित हुनुपर्छ। सेवा उपलब्ध छ भनेर मात्र पुग्दैन; यात्रुले त्यसलाई सुरक्षित रूपमा उपयोग गर्न सक्नुपर्छ।

सिड्नी : नियमित सेवा बन्द हुँदा वैकल्पिक बस

अस्ट्रेलियाको सिड्नीमा मध्यरातदेखि बिहान करिब ४:३० बजेसम्म अधिकांश रेल सेवा बन्द हुने समयमा ‘नाइटराइड’ नामका बसले रेल सेवाको विकल्प उपलब्ध गराउँछन्। यी बस रेलमार्गका स्टेसननजिक रोकिने गरी सञ्चालन गरिन्छन्। सम्बन्धित आधिकारिक यातायात माध्यमबाट मार्ग र गन्तव्यको जानकारी पनि उपलब्ध हुन्छ।

काठमाडौँका लागि यो उपयोगी उदाहरण हो। रात्रिकालीन सेवा सञ्चालन गर्न सहरभरि नयाँ र छुट्टै यातायात सञ्जाल निर्माण गर्नैपर्छ भन्ने छैन। उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा परिचालन गरेर नियमित सेवा बन्द हुने वा सीमित हुने समयमा वैकल्पिक व्यवस्था गर्न सकिन्छ।

काठमाडौँमा पनि यात्रुको मागका आधारमा प्रमुख मार्गमा रात्रिकालीन बस सञ्चालन गर्न सकिन्छ। नियमित बस सेवा बन्द हुने समयमा वैकल्पिक बस चलाउने, प्रमुख स्थानमा निश्चित प्रस्थान समय राख्ने र मार्गअनुसार सेवा समायोजन गर्ने विकल्प अपनाउन सकिन्छ।

यी अन्तर्राष्ट्रिय उदाहरण काठमाडौँसँग पूर्ण रूपमा तुलना गर्न मिल्ने एउटै नमुना होइनन्। तिनका आर्थिक स्रोत, यातायात संरचना, यात्रुको माग र प्रशासनिक क्षमता फरक छन्। तर एउटा साझा सन्देश स्पष्ट छ-रात्रिकालीन सेवा घोषणा गरेर मात्र पुग्दैन; त्यसलाई समयतालिका, मार्ग, सूचना, सुरक्षा र निरन्तरतासँग जोड्नुपर्छ।

काठमाडौँमा रातिको यातायात किन आवश्यक छ?

काठमाडौँको सहरी जीवन कार्यालय समयसँग मात्र सीमित छैन। अस्पतालमा चौबीसै घण्टा सेवा दिनुपर्छ। होटल, रेस्टुरेन्ट, सुरक्षा सेवा, सञ्चारमाध्यम, यातायात, सरसफाइ र अन्य क्षेत्रमा रातिसम्म काम गर्ने कर्मचारी हुन्छन्। विमानस्थलमा यात्रुको आवागमन राति पनि जारी रहन्छ। धार्मिक तथा सांस्कृतिक गतिविधिका कारण पनि विभिन्न समयमा यात्रुको चाप बढ्छ।

तर राति सार्वजनिक यातायात सीमित हुँदा यसको भार ट्याक्सी, राइडर सेवा र निजी सवारीसाधनमा पर्छ। आर्थिक रूपमा सक्षम नागरिकले अतिरिक्त खर्च गरेर घर फर्किन सक्छन्। न्यून आय भएका नागरिकका लागि त्यही विकल्प सहज हुँदैन।

यसले सार्वजनिक यातायातको एउटा महत्त्वपूर्ण पक्ष उजागर गर्छ- यातायात सडकमा गुड्ने सवारीसाधनको विषय मात्र होइन, अवसरमा पहुँचको विषय पनि हो।

कुनै श्रमिक राति काम सकेर घर फर्किन सार्वजनिक बस नपाउँदा महँगो सवारी लिन बाध्य हुन्छ भने उसको आम्दानीको ठूलो हिस्सा यातायातमा खर्च हुन सक्छ। कुनै महिला राति बस नपाएर सुनसान सडकमा लामो समय कुर्नुपर्छ भने उनको सुरक्षाको प्रश्न उठ्छ। अस्पतालमा बिरामी कुरेर फर्किने परिवारले बस नपाउँदा अनावश्यक खर्च गर्नुपर्छ भने सार्वजनिक सेवाको अभावले उनीहरूको कठिनाइ थप बढाउँछ।

त्यसैले रात्रिकालीन यातायातलाई आर्थिक न्याय, लैङ्गिक सुरक्षा र समावेशी सहरी विकाससँग जोडेर हेर्नुपर्छ।

महानगरले अब के गर्नुपर्छ?

पहिलो, सेवाको वास्तविक अवस्था सार्वजनिक गर्नुपर्छ। कुन मार्गमा कति बस चल्छन्, सेवा कति बजेदेखि कति बजेसम्म उपलब्ध हुन्छ, अन्तिम बस कहिले छुट्छ र यात्रुले समयतालिका कहाँ हेर्न सक्छन् भन्ने जानकारी स्पष्ट हुनुपर्छ।

दोस्रो, निर्धारित समयभन्दा पहिले सेवा बन्द भएको हो भने कारण पत्ता लगाउनुपर्छ। चालक वा कर्मचारीको अभाव, यात्रुको न्यून चाप, सञ्चालन खर्च, मार्ग व्यवस्थापन वा अन्य कुनै समस्या हो भने तथ्यसहित सार्वजनिक गर्नुपर्छ। सञ्चालनमा देखिएका कठिनाइ समाधान गर्नु महानगरको जिम्मेवारी हो।

तेस्रो, यात्रुको वास्तविक माग अध्ययन गर्नुपर्छ। राति कुन क्षेत्रमा कति मानिस यात्रा गर्छन्, कहाँबाट कहाँ जाने यात्रु बढी छन्, कुन समयमा बसको आवश्यकता बढी हुन्छ र कुन मार्गमा सेवा विस्तार गर्दा धेरै नागरिक लाभान्वित हुन्छन् भन्ने तथ्याङ्क सङ्कलन गर्नुपर्छ।

चौथो, धार्मिक स्थल र चाडपर्वलाई ध्यानमा राखेर विशेष यातायात योजना बनाउनुपर्छ। फूलपाती, महाअष्टमी, नवमी, शिवरात्रि तथा अन्य विशेष अवसरमा यात्रुको चाप बढ्ने स्थानमा अतिरिक्त बस परिचालन गर्न सकिन्छ। यस्तो व्यवस्था अन्तिम समयमा हतारहतार गर्ने होइन, पूर्वयोजनाका आधारमा हुनुपर्छ।

पाँचौँ, समयतालिका बस बिसौनीमै राख्नुपर्छ। रात्रिकालीन बसको समयतालिका डिजिटल माध्यममा मात्र सीमित हुनु हुँदैन। सबै नागरिकसँग स्मार्टफोन वा इन्टरनेट पहुँच नहुन सक्छ। यात्रुले बस बिसौनीमै हेरेर अन्तिम गाडी छुट्ने समय थाहा पाउन सक्नुपर्छ।

छैटौँ, रातिको सार्वजनिक यातायात सुरक्षित बनाउनुपर्छ। बस बिसौनीमा पर्याप्त प्रकाश, यात्रुका लागि सूचना, गुनासो सुनुवाइको माध्यम र आवश्यकताअनुसार प्रहरीसँग समन्वय हुनुपर्छ। बसको प्रतीक्षामा रहेका यात्रुले आफू एक्लो र असुरक्षित भएको महसुस गर्नुपर्ने अवस्था आउनु हुँदैन।

सातौँ, सेवाको नियमित अनुगमन गर्नुपर्छ। बस निर्धारित समयमा छुट्यो कि छुटेन, यात्रुले कति समय कुर्नुपर्‍यो, कति यात्रुले सेवा उपयोग गरे र कति गुनासा आए भन्ने विवरण नियमित रूपमा मूल्याङ्कन गर्नुपर्छ। यसले महानगरलाई प्रचारका लागि देखाइने तथ्याङ्कभन्दा सेवाको वास्तविक प्रभाव बुझ्न मद्दत गर्छ।

रात्रिकालीन बसको असफलता यात्रुको असफलता होइन

जयबागेश्वरीमा बस नपाएका ती भक्तालुले कुनै असाधारण सुविधा खोजेका थिएनन्। उनीहरूले सार्वजनिक रूपमा उपलब्ध गराइएको भनिएको सेवाको उपयोग गर्न खोजेका थिए। उनीहरूलाई घर फर्किन एउटा बस चाहिएको थियो। तर बस नपाएपछि अर्को विकल्प खोज्नुपर्‍यो।

यहीँ सार्वजनिक सेवाको मूल प्रश्न छ। नागरिकले कर तिर्छन्, सार्वजनिक संस्थाबाट सेवा पाउने अपेक्षा राख्छन् र घोषित व्यवस्थामाथि विश्वास गर्छन्। त्यसैले सेवा नियमित रूपमा उपलब्ध नहुँदा नागरिकलाई मात्रै अर्को विकल्प खोज्न लगाएर राज्य वा स्थानीय सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको मान्न मिल्दैन।

ट्याक्सी वा राइडर सेवा उपलब्ध छ भन्दैमा सार्वजनिक बसको आवश्यकता समाप्त हुँदैन। निजी र सार्वजनिक यातायातको उद्देश्य, लागत र पहुँच फरक हुन्छन्। सार्वजनिक बसको महत्त्व नै ठूलो सङ्ख्यामा नागरिकलाई तुलनात्मक रूपमा सुलभ भाडामा यात्रा गर्ने अवसर दिनु हो।

महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्न आर्थिक स्रोत खर्च गरेको छ भने त्यसको प्रभावकारिता सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ। सेवा सञ्चालनमा कठिनाइ छन् भने तिनलाई सार्वजनिक रूपमा स्वीकार गरेर सुधार गर्नुपर्छ। बसको माग कम छ भने मार्ग र समयतालिका पुनरावलोकन गर्न सकिन्छ। यात्रुको माग बढी छ भने सेवा विस्तार गर्न सकिन्छ। तर सेवा उपलब्ध छ भन्ने जानकारी दिएर वास्तविक समयमा सेवा नपाउने अवस्था दोहोरिनु हुँदैन।

महानगरको प्रतिष्ठा प्रचारमा होइन, नागरिकको अनुभवमा निर्भर हुन्छ

कुनै पनि महानगरको सफलता सडक, भवन, पार्क वा अन्य भौतिक संरचनाले मात्र निर्धारण गर्दैन। सार्वजनिक सेवा कति विश्वसनीय छ र नागरिकले दैनिक जीवनमा त्यसबाट कति लाभ पाउँछन् भन्ने कुराले पनि सहरको गुणस्तर निर्धारण गर्छ।

रात्रिकालीन बस सेवा प्रभावकारी भयो भने राति काम गर्ने श्रमिकलाई राहत मिल्छ, विद्यार्थी र कर्मचारीको आवागमन सहज हुन्छ, निजी सवारीसाधनमा निर्भरता घटाउन मद्दत पुग्छ र सहर अझ समावेशी बन्छ। तर सेवा नाममा मात्र सीमित भयो भने नागरिकको विश्वास कमजोर हुन्छ।

काठमाडौँ महानगरपालिकाले यस घटनालाई आलोचनाका रूपमा मात्र नलिई सुधारको अवसरका रूपमा लिनुपर्छ। सेवा राम्रोसँग चलेको छ भने त्यसको तथ्याङ्क सार्वजनिक गर्नुपर्छ। समस्या छन् भने समाधान गर्नुपर्छ। यात्रुले बस नपाएर भोगेको कठिनाइलाई सानो घटना भनेर पन्छाउनु हुँदैन।

अन्ततः जयबागेश्वरीका ती यात्रुले सोधेको प्रश्न सामान्य थियो-‘रात्रिकालीन बस छ?’

तर त्यसको जवाफले महानगरको सार्वजनिक सेवा कति भरपर्दो छ भन्ने ठूलो प्रश्न उठाएको छ। रात्रिकालीन बस वास्तवमै कुन समयसम्म चल्छ? नागरिकले त्यसको भर पर्न सक्छन् कि सक्दैनन्? बस नपाएको अवस्थामा यात्रुलाई जानकारी दिने र वैकल्पिक व्यवस्था गर्ने जिम्मेवारी कसले लिन्छ?

यी प्रश्नको उत्तर घोषणा र प्रचारबाट होइन, नियमित सेवा र जवाफदेहिताबाट दिनुपर्छ। बस चलाउनु उपलब्धि हुन सक्छ, तर नागरिकलाई आवश्यक परेको समयमा गन्तव्यसम्म पुर्‍याउनु वास्तविक सफलता हो। महानगरले यही अन्तर बुझ्न सके मात्र रात्रिकालीन बस सेवा नाममा होइन, व्यवहारमै नागरिकको सेवा बन्न सक्छ। नत्र रात्रिकालीन बस पनि महानगरको प्रचार सामग्रीमा थपिएको अर्को उपलब्धि मात्र हुनेछ-नागरिकचाहिँ फूलपातीको साँझ जयबागेश्वरीमा जस्तै बस कुर्दै अलमलमा पर्नेछन्।

प्रकाशित: २ कार्तिक २०८३ १३:३८ | Monday, October 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast