काठमाडौँ– सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको छ । यात्रुहरूको सहज आवतजावतका लागि दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको हो ।
दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने गरेको छ । सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।
सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा सोमबारबाट लगातार तीन दिन, बिहान ८ देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।
कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर, नयाँ बसपार्क हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
दसैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बसको सेवा सञ्चालन गर्दै आइरहेको छ ।




