काठमाडौँ- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ।
सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाइँ समारोह गरेको हो। यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो।
त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो। त्यस्तै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्च पाससहितको बढाइँ गरिएको थियो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाहलगायत विशिष्ट व्यक्तिहरु सहभागी थिए।
बडा दसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ।


काठमाडौँ, ३१ असोजः
काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजित ‘फूलपाती बढाइँ समारोह–२०८३’ मा सैनिक हेलिकप्टरमार्फत ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिँदै । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौँ, ३१ असोजः
काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजित ‘फूलपाती बढाइँ समारोह–२०८३’ मा दुर्गा बन्दना प्रस्तुत गरिँदै । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । तस्बिर : किरणराज विष्ट/रासस





