काठमाडौँ- भारतमा प्रमुख निर्वाचन आयुक्तलाई पदबाट हटाउन माग गर्दै प्रदर्शनको तयारी भइरहेका बेला प्रहरीले शुक्रबार ककरोच जनता पार्टीका नेता अभिजित दिप्केलाई पक्राउ गरेको छ।
३१ वर्षीय दिपकेलाई नयाँदिल्लीको व्यस्त व्यावसायिक क्षेत्र कनट प्लेसस्थित सेन्ट्रल पार्कमा प्रदर्शन सुरु हुनुअघि नियन्त्रणमा लिइएको आन्दोलनकारी समूहले सामाजिक सञ्जालमार्फत जनाएको छ।
समूहले राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गर्न खोज्ने युवासँग सरकार डराएको आरोप लगाएको छ।
दिपकेले आफ्ना दुई सहकर्मीलाई जंतरमंतर क्षेत्रमा सुरक्षा अवरोध पार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएपछि समर्थकलाई राष्ट्रिय झण्डासहित सेन्ट्रल पार्कमा भेला हुन आह्वान गरेका थिए।
प्रहरीले उक्त क्षेत्रमा सार्वजनिक जमघट गर्न प्रतिबन्ध लगाएको जनाएको छ।
भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको नेतृत्वमा भएको मतदाता नामावली पुनरावलोकनलाई लिएर पछिल्लो समय विवाद बढेको छ।
विपक्षी दल र आन्दोलनकारीहरूले उक्त प्रक्रियाले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पु¥याउने आरोप लगाउँदै आएका छन्। उनीहरूले निर्वाचन आयुक्तको राजीनामासमेत माग गरेका छन्।
यद्यपि, भारतको निर्वाचन आयोगले कुनै अनियमितता नभएको दाबी गर्दै आएको छ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित तथ्यांकअनुसार मतदाता नामावली पुनरावलोकनका क्रममा १३ करोड ३० लाखभन्दा बढी मतदाताका नाम हटाइएको छ।
विपक्षी दलहरूले अदालतमा पेस गरेका विवरणमा उक्त कदमबाट अल्पसंख्यक समुदाय, विशेषगरी मुस्लिम समुदायका मानिस बढी प्रभावित भएको आरोप लगाइएको छ।
तर निर्वाचन अधिकारीहरूले दोहोरो नाम, मृत्यु भएका व्यक्तिको नाम र नक्कली विवरण हटाउने उद्देश्यले प्रक्रिया अघि बढाइएको बताएका छन्।
प्रदर्शनलाई ध्यानमा राख्दै शुक्रबार नयाँदिल्लीको मध्य क्षेत्रमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीले सार्वजनिक जमघटसम्बन्धी प्रतिबन्धको आदेश उद्धृत गर्दै प्रदर्शनकारीलाई भेला नहुन चेतावनी दिएको छ।




