काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।
पहिलो र दोस्रो संस्करणमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका जगत टमाटाको स्थानमा मिसबाहलाई नियुक्त गरिएको सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।
पाकिस्तानको राष्ट्रिय टोलीबाट लामो समय खेलेका अनुभवी ब्याटर मिसबाहले अब एनपीएलमा सुदूरपश्चिमको नेतृत्व सम्हाल्नने भएका हुन्।
मिसबाहले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय गरी तीनवटै प्रारूपमा खेलेका छन्।
उनले ७५ टेस्ट, १६२ एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ टी-२० अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए।
मिसबाहले कप्तानको भूमिकामा पनि पाकिस्तानको क्रिकेटमा महत्त्वपूर्ण योगदान दिइसकेका छन्। उनको नेतृत्वमा पाकिस्तानले ५६ टेस्टमध्ये २६ खेल जितेको थियो।
मिसबाहले सन् २०१५ को एकदिवसीय विश्वकपपछि सीमित ओभरका अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका थिए।
सन् २०१९ देखि २०२१ सम्म उनले पाकिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ताको जिम्मेवारी सम्हालेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा अनुभव हासिल गरेका मिसबाहको नियुक्तिले सुदूरपश्चिमको आगामी सिजनको तयारीलाई थप चासोका साथ हेरिएको छ।
मिसबाहले पनि नेपाल आउन र सुदूरपश्चिमको प्रशिक्षक बन्न पाउँदा आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।
उनले नेपाली समर्थकको क्रिकेटप्रतिको लगावबारे आफूले सुनेको उल्लेख गर्दै छिट्टै नेपालमा भेट हुने बताएका छन्।
तेस्रो संस्करणको एनपीएल कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ।




