सर्लाही- हुलाकी राजमार्गअन्तर्गत पर्सा गाउँपालिका–२, संग्रामपुरमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन्।
बीआर०६ बीएक्स ०४३५ नम्बरको कार दुर्घटना हुँदा महोत्तरीको गौशला नगरपालिका–५, जिरोमाइल बस्ने २४ वर्षका कार चालक विकल साहको मृत्यु भएको हो।
दुर्घटनापश्चात गम्भीर घाइते भएका साहलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो। अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए।
घटनामा सोही कारमा सवार अन्य दुई युवक घाइते भएका छन्।
घाइते महोत्तरीको गौशला नगरपालिका–४ का २३ वर्षीय शम्भुनाथ कुमार साह र अन्दाजी २२–२३ वर्षका शुभमकुमार शर्मा घाइते भएका छन्।
उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए।




