सुरेन्द्र तिमल्सेना। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाका पिता सुरेन्द्र तिमल्सेनाको बिहीबार ६८ वर्षको उमेरमा निधन भएको छ। सुरेन्द्र लामो समयदेखि क्यान्सरबाट पीडित रहेको सचिनले बताएका छन्।
कांग्रेस केन्द्रीय सदस्य सचिनले सामाजिक सञ्जालमार्फत पिताको निधनको पीडा व्यक्त गर्दै उनको संघर्ष, राजनीतिक निष्ठा र सामाजिक योगदानको स्मरण गरेका छन्।
सचिनले आफूले पिता गुमाउँदाको अनुभव असाध्यै पीडादायी रहेको उल्लेख गरेका छन्। उनका अनुसार सुरेन्द्र बाल्यकालमा हरेक बिहान नयाँनयाँ कथा सुनाउने कथाकार थिए। ती कथाका नायक प्रायः आफैँ हुन्थे। बाल्यकालमा बुवाले सुनाएका काल्पनिक कथाले आफूमा उनीप्रति बहादुरी र बुद्धिमत्ताको छाप छोडेको सचिनले स्मरण गरेका छन्।
सुरेन्द्रको प्रजातन्त्रप्रतिको समर्पण र पञ्चायतकालीन सङ्घर्षका अनेक कथा रहेको सचिनले बताएका छन्। प्रजातन्त्र सेनानी हुनुमा गर्व गर्ने उनका पिता पाँचथरमा विशिष्ट पहिचान बनाएका व्यक्ति थिए। २०६२/६३ को जनआन्दोलनमा करिब ५० फिट अग्लो झन्डा बोकेर हरेक दिन सहभागी भएको प्रसंग पनि सचिनले उल्लेख गरेका छन्।
‘पदभन्दा सिद्धान्त’ लाई प्राथमिकता दिन सिकाउने बुवाले राजनीतिक कठिनाइका बेला पनि आफूलाई सिद्धान्तमा अडिग रहन प्रेरित गरेको सचिनले बताएका छन्। २०८१ भदौ २४ गते पार्टी छाड्न दबाब आइरहेका बेला बुवाले नेताहरूले गरेको गल्तीको भारी कार्यकर्ताले बोक्नु नपर्ने भन्दै आफूलाई सम्झाएको उनले स्मरण गरेका छन्।
सचिनका अनुसार सुरेन्द्र दृढ, जिद्दी र हक्की स्वभावका थिए। पाँचथरको विकट गाउँ च्याङ्थापुलाई नमुना गाउँ बनाउने लक्ष्यसहित उनले विभिन्न सामाजिक तथा आर्थिक गतिविधि अघि बढाएका थिए। गाडीबाट ओर्लिएपछि आठ घण्टा पैदल हिँड्नुपर्ने गाउँमा सिक्किमबाट शिक्षक ल्याएर विद्यालय स्थापना गर्नुका साथै राइस मिल, माछापोखरी र पहाडी कागज उद्योग सञ्चालन गरेका थिए। सशस्त्र द्वन्द्वका कारण विस्थापित हुनुपरेपछि गाउँलाई नमुना बनाउने उनको सपना पूरा हुन नसकेको सचिनले उल्लेख गरेका छन्।
सन् २०१६ देखि क्यान्सरबाट पीडित सुरेन्द्रले लामो समय उपचार गराएका थिए। नाकको क्यान्सर निको हुन नपाउँदै जिब्रोमा पनि क्यान्सर देखिएको थियो। उपचारका क्रममा सन् २०२१ मा चिकित्सकले रेडियोथेरापी नगरे तीन महिना पनि बाँच्न मुस्किल हुने बताउँदै दिल्लीबाट बिदा दिएको सचिनले लेखेका छन्। बुवाले आफ्नै दृढ इच्छाशक्तिका कारण थप पाँच वर्ष जीवन बिताएको उनले बताएका छन्।
बुवाका अन्तिम दिनमा आफू नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिस्पर्धा गरिरहेको सचिनले उल्लेख गरेका छन्। कुनै समय बुवा पनि कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका थिए। आफू केन्द्रीय सदस्यमा निर्वाचित भएको खबर सुनाउनु नै बुवासँगको अन्तिम संवाद बनेको उनले बताएका छन्। ‘बाबा, मैले केन्द्रीय सदस्यको चुनाव जितेँ’ भनेपछि बुवाले स्याबासी र आशीर्वाद दिएको तर त्यसपछि होस नफर्किएको उनले लेखेका छन्।
सचिनले आफ्ना बुवाले जीवनका मूल्यमान्यतामा अडिग रहँदै सयौँ मानिसको जीवनमा प्रभाव पारेको बताएका छन्।




