काठमाडौँ भद्रकाली मन्दिरमा पूजाआराधना तथा दर्शन गर्दै भक्तजन। तस्बिर : रासस
काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौं दिन शुक्रबार कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।
कत गोत्रमा उत्पन्न भएका कात्यायन ऋषिका घरमा जन्मिएकीले यिनको नाम कात्यायनी भयो। ऋषि कात्यायनले तपश्या गरेर प्राप्त, पुत्री रूपमा प्रकट भएकी, ब्रह्मा-विष्णु-महेशका अंश धारण गरेकी कात्यायनी नामलाई कात्यायन ऋषिसँग सम्बन्धित देवीका रूपमा बुझिन्छ। उनी योद्धा स्वरूप दृढ सङ्कल्प, धर्मसम्मत कर्म र अन्यायको सामना गर्ने साहसकी प्रतीक हुन्।
प्रतीकात्मक रूपमा कात्यायनीले चरित्रको परिपक्वतालाई सङ्केत गरेकी छिन्। कठिन निर्णय लिनसक्ने, असहाय र दुर्बल व्यक्तिको संरक्षण गर्ने तथा सत्यनिष्ठा र नीतिसम्मत आफ्नो कर्तव्य निर्वाह गर्ने क्षमता यस स्वरूपका प्रमुख सन्देश हुन्।
कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूल्ठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन्।
दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ।




