काठमाडौँ- केही दिनअघि नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मत माग्न व्यस्त गगनकुमार थापा र विश्वप्रकाश शर्मा राष्ट्रियसभा गृहको प्रांगणमा भेटिए। पार्टीका दुई शीर्ष नेताबीचको भेटमा उपस्थित सबैको ध्यान खिचियो। शुभेच्छुकले रुचाएको यो जोडी आमनेसामने भएपछि दुवैले अंकमाल गरे। वरिपरि रहेका कार्यकर्ताले उनीहरूको सहकार्यबारे जिज्ञासा राखे।
विश्वप्रकाशले मुस्कुराउँदै भने, ‘यमराजले नछुटाएसम्म हाम्रो जोडी रहिरहन्छ।’ गगनले हाँसेरै उनको भनाइमा सहमति जनाए। त्यसपछि राष्ट्रियसभा गृहबाहिर फेरि ‘गगन दाइ हाइहाइ ’को नारा घन्कियो।
दुई नेताको यो भेट सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म चर्चाको विषय बन्यो। कांग्रेस कार्यकर्ताले भिडियो खिचेर आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरे। राजनीतिक प्रतिस्पर्धा र पदको होडबाजीबीच दुई नेताको आत्मीय सम्बन्धले धेरैको ध्यान तानेको थियो।
राजनीतिमा गुटबन्दी, कित्ताकाट र आरोप-प्रत्यारोप सामान्य मानिन्छन्। तर गगन-विश्वको सम्बन्धलाई बाहिरबाट हेर्दा यी प्रवृत्तिभन्दा भिन्न देखिन्छ। उनीहरूबीचको आन्तरिक सम्बन्धको वास्तविकता उनीहरूलाई नै थाहा होला, तर सार्वजनिक रूपमा उनीहरूले एकअर्कालाई दिएको साथ र सम्मान भने पटकपटक देखिएको छ।
कांग्रेसमा परिवर्तनको बहस अघि बढाउन र नेतृत्वमा नयाँ पुस्ताको दाबी स्थापित गर्न यी दुई नेताले खेलेको भूमिका महत्त्वपूर्ण छ। गगनले नेतृत्वको दाबी अगाडि बढाउँदा विश्वप्रकाशले उनलाई साथ दिएका छन्। विश्वले आफ्नो राजनीतिक वरिष्ठता र नेतृत्वको सम्भावनालाई गगनसँगको सहकार्यको बाधक बनाएनन्। बरु, गगनलाई अगाडि बढाउन आफू सहयोगी भूमिकामा उभिएका छन्।
यसले दुवैलाई फाइदा भएको देखिन्छ। गगनले विश्वको साथ पाएर नेतृत्वको यात्रा अघि बढाए भने विश्वले पनि गगनको नेतृत्वमा पार्टीभित्र आफ्नो स्थान थप उचाइमा पुर्याए। उनीहरूको सम्बन्धको विशेषता यही हो- एकले नेतृत्वको दाबी गर्दा अर्काले त्यसलाई आफ्नो पराजय ठानेनन्।
दुवै सम्भावना बोकेका नेता हुन्। दुवैप्रति युवा पुस्ताको विश्वास देखिन्छ। कांग्रेसमा गगन र विश्वजत्तिको राष्ट्रिय राजनीतिक उपस्थिति, सार्वजनिक अभिव्यक्ति र संगठनभित्रको प्रभाव भएका नेता धेरै छैनन्। उनीहरूको सहकार्यले कांग्रेसमा पुस्तान्तरणको बहसलाई व्यक्तिको आकांक्षाबाट नेतृत्व परिवर्तनको मुद्दासम्म पुर्याएको छ।
यसको अर्थ उनीहरूका बीच मतभेद छैनन् भन्ने होइन। विशेष महाधिवेशनकै बेला नेतृत्व परिवर्तनका विषयमा उनीहरूको दृष्टिकोण भिन्न देखिएको थियो। तर मतभेदलाई सहकार्यको अन्त्य बनाउनुको सट्टा उनीहरूले संवाद र समन्वयबाट अघि बढ्ने बाटो रोजे।
यही कारण गगन-विश्वको सम्बन्ध कांग्रेसभित्रको एउटा घटनामा मात्र सीमित छैन। एमाले र नेकपाजस्ता दलमा पनि नेतृत्व हस्तान्तरणको बहस चलिरहँदा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्काल नेतृत्व छाड्ने पक्षमा देखिएका छैनन्। यस्तो अवस्थामा कांग्रेसमा गगन-विश्वको अगुवाइमा भएको नेतृत्व परिवर्तनले भिन्न राजनीतिक सन्देश दिएको छ। पुरानो नेतृत्वलाई चुनौती दिएर नयाँ पुस्ता स्थापित हुँदा उनीहरूले पाएको प्रशंसा पनि यसैसँग जोडिएको छ।
एमालेका उपमहासचिव योगेश भट्टराईले पनि गगन र विश्वको तस्बिर राखेर सामाजिक सञ्जालमा लेखेका छन्, ‘बधाई तथा शुभकामना! नेपाली कांग्रेसका नवनिर्वाचित सभापति र वरिष्ठ उपसभापति प्रिय साथी गगनजी र विश्वजीलाई। आशा, भरोसा र विश्वासको जगमा तपाईंहरू नेतृत्वमा आउनुभएको छ, टुट्न दिनुहुने छैन।’
सभापतिलाई मात्र बधाई दिने प्रचलनभन्दा भिन्न भट्टराईले दुवै नेतालाई सम्बोधन गरे। उनको शुभकामनाले पनि गगन-विश्वको सहकार्यलाई कांग्रेसको नेतृत्व परिवर्तनको महत्त्वपूर्ण पाटोका रूपमा हेरिएको संकेत गर्छ।
उस्तै राजनीतिक यात्रा, भिन्न शैली
उमेरमा गगन ५० वर्षको हाराहारीमा छन् भने विश्वप्रकाश ५५ वर्ष पुगेका छन्। गगन काठमाडौँका हुन्, विश्व झापाका। विश्वले २०३७ सालदेखि झापामा विद्यालय जीवनबाटै राजनीति थालेका थिए। गगन भने २०४६ सालको जनआन्दोलनपछि राजनीतिक रूपमा सक्रिय भए।
विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा स्थापित हुनु दुवैको समानता हो। २०५७ सालमा विश्वप्रकाश नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति हुँदा गगन उपसभापति थिए। विद्यार्थी संगठनमा विश्व गगनका नेता थिए। अहिले पार्टीको नेतृत्वमा गगन सभापति हुँदा विश्व वरिष्ठ उपसभापति बनेका छन्।
नेविसंघका पूर्वप्रवक्ता एवं कांग्रेस नेता सुरज सेजुवालका अनुसार दुवै नेताको राजनीतिक उदयमा सहकार्यको भूमिका छ।
‘उहाँहरूको फरक शैली भए पनि दोस्ती गजब छ। सधैँ हातेमालो गरेर अघि बढेको देखिएको छ,’ सेजुवाल भन्छन्, ‘उहाँहरू जुन स्थानमा हुनुहुन्छ, त्यो दुवैको मेहनत र सहकार्यले सम्भव भएको हो।’
विद्यार्थी राजनीतिबाटै उनीहरूको राजनीतिक सिकाइ र सार्वजनिक छवि निर्माण भएको थियो। विश्वप्रकाश संगठनको नेतृत्वमा पुगे, गगन उपसभापतिको भूमिकामा रहे। त्यतिबेलादेखि नै उनीहरूबीच सुमधुर सम्बन्ध रहेको निकट नेताहरू बताउँछन्।
उनीहरूको राजनीतिक यात्रा एउटै दिशामा अघि बढे पनि शैली भने भिन्न छ। सेजुवालका शब्दमा गगन खरो र कटाक्षपूर्ण वाक्कला भएका नेता हुन् भने विश्व विनम्र, भावनात्मक र साहित्यिक शैलीमा प्रस्तुत हुन्छन्।
‘गगन खरो, कटाक्षपूर्ण वाक्कला भएका हुन् भने विश्व विनम्र, भावनात्मक र साहित्यिक किसिमको वाक्कला भएका हुन्,’ सेजुवाल भन्छन्, ‘उनीहरू दुवैको भाषाशैली मिठो र तर्कपूर्ण हुन्छ।’
गगन आफ्ना तर्कमा व्यंग्य र कटाक्ष मिसाउँछन्। विशेष महाधिवेशनमा भृकुटीमण्डपमा उनले कांग्रेस ‘दास र लासको पार्टी होइन’ भनेको अभिव्यक्ति चर्चित बन्यो। त्यसले पुरानो नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठायो। विश्व भने उही विषयलाई सरल र साहित्यिक प्रस्तुतिमार्फत उठाउँछन्। उनी भावनात्मक अपिल र तर्कलाई सँगसँगै अघि बढाउँछन्।
यी दुई नेताको साझा पक्ष भनेको परिवर्तनको चाहना र सार्वजनिक रूपमा आफ्नो विचार राख्ने क्षमता हो। उनीहरूका अभिव्यक्तिमा आक्रामकता र विनम्रताको भिन्नता देखिए पनि राजनीतिक सहकार्यमा त्यसले दूरी बढाएको छैन।
एकअर्काका परिपूरक
गगन थापा सभापतिमा निर्वाचित भएपछि पत्रकार माधव नेपालले सामाजिक सञ्जालमा लेखे, ‘हरेक मान्छेले गगन थापाले जस्तै विश्वप्रकाश शर्माजस्तो साथी पाउने हो भने, जीवनका कठिन मोडहरूमा एक्लोपन अनुभव गर्नुपर्ने थिएन होला है?’
एमालेनिकट पत्रकार नेपालले गरेको यो टिप्पणीले गगन-विश्वको सम्बन्धलाई व्यक्तिगत मित्रताको कोणबाट पनि हेरिएको देखाउँछ। तर उनीहरूको सहकार्यको अर्थ मित्रतामा मात्र सीमित छैन। त्यसको प्रभाव कांग्रेसको संगठन, नेतृत्व चयन र पुस्तान्तरणको बहसमा समेत परेको छ।
गगन २०६२-०६३ को जनआन्दोलनका बेला युवा नेताका रूपमा चर्चामा आएका थिए। परिवर्तनका पक्षमा सडकमा उत्रिएका उनी पक्राउसमेत परे। जनआन्दोलनमा उनको तस्बिर र अभिव्यक्तिले व्यापक चर्चा पाएको थियो। उनी त्यसबेला कांग्रेसका युवा नेतामध्ये अग्रपंक्तिमा थिए।
कांग्रेसको १२औँ महाधिवेशनबाट २०६७ सालमा केन्द्रीय सदस्य बनेका गगनले १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरे। उनी पराजित भए। तर १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भए। त्यसपछि पार्टीको नेतृत्वमा पुग्ने उनको आकांक्षा थप स्पष्ट हुँदै गयो र विशेष महाधिवेशनमार्फत सभापति बने।
विश्वप्रकाशको राष्ट्रिय राजनीतिक यात्रा भने कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि थप स्थापित भएको थियो। तत्कालीन सभापति शेरबहादुर देउवानिकट मानिएका उनले पार्टीको प्रवक्ताको जिम्मेवारी पाए। कांग्रेसभित्र समन्वय र प्रभावकारी सञ्चारको आवश्यकता देखिएका बेला उनले प्रवक्ताको भूमिका निर्वाह गरे। यसबाट उनको व्यक्तिगत पहिचानसँगै पार्टीको सार्वजनिक प्रस्तुतिमा पनि प्रभाव परेको थियो।
देउवासँगको उनको निकटता लामो समय टिकेन। १४औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी विश्वप्रकाशलाई देउवाले आफ्नो समूहबाट उम्मेदवार बनाएनन्। कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेललाई उम्मेदवार बनाएपछि विश्वप्रकाश प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरे र निर्वाचित भए।
त्यस महाधिवेशनमा भिन्न समूहबाट महामन्त्री बनेका गगन र विश्वबीच सार्वजनिक रूपमा उल्लेखनीय मनमुटाव देखिएन। पार्टीभित्रका भिन्न राजनीतिक समीकरणले उनीहरूको सम्बन्धलाई कमजोर बनाएन। बरु, दुवैको राजनीतिक यात्रा समानान्तर रूपमा अघि बढिरह्यो।
विश्वप्रकाशले गगनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव पनि यसै सहकार्यको एउटा उदाहरण हो। २०७९ को निर्वाचनअघि उनले झापाबाट गगनलाई प्रधानमन्त्री बनाउने उद्घोष गरेका थिए। त्यसले गगनको प्रधानमन्त्री बन्ने आकांक्षालाई पार्टीभित्र र बाहिर सार्वजनिक बहसको विषय बनायो। गगनलाई अघि सार्ने विश्वको प्रस्तावले दुवै नेताको राजनीतिक सम्बन्धलाई नयाँ अर्थ दिएको थियो।
गगनले तीन पटक काठमाडौँ क्षेत्र नम्बर ४ बाट चुनाव जिते। २०७०, २०७४ र २०७९ मा लगातार निर्वाचित उनी २०६४ सालमा समानुपातिक सांसद बनेका थिए। यसरी उनी चार पटक सांसद भए र एकपटक मन्त्रीसमेत बने। विश्वप्रकाशले भने लामो समय चुनावी प्रतिस्पर्धा गरेपछि २०७९ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्य जितेका थिए। २०८२ फागुन २१ को निर्वाचनमा गगन सर्लाही-४ बाट पराजित भए भने विश्वप्रकाश प्रतिस्पर्धामा उत्रिएनन्।
संसदीय यात्रामा गगनले हासिल गरेको उपलब्धि र विश्वप्रकाशले संगठन तथा सार्वजनिक अभिव्यक्तिबाट बनाएको पहिचान भिन्न छन्। तर दुवैको राजनीतिक उचाइमा एकअर्काको साथले भूमिका खेलेको देखिन्छ। गगनले विश्वको समर्थनबाट नेतृत्वको दाबीलाई फराकिलो बनाउन सके भने विश्वले गगनसँगको सहकार्यबाट पार्टीभित्र आफ्नो भूमिका थप स्थापित गरे।
विशेष महाधिवेशनले देखाएको सहकार्य
जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व र नीतिमा परिवर्तनको माग चर्कियो। त्यसको पृष्ठभूमिमा विशेष महाधिवेशनको बहस अघि बढ्यो। पार्टीभित्र नेतृत्व परिवर्तन चाहने र पुरानै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षबीच मतभेद थियो।
विशेष महाधिवेशनको पूर्वार्धमा गगन र विश्वप्रकाशबीच पनि दृष्टिकोणको भिन्नता देखिएको नेताहरू बताउँछन्। विश्वप्रकाश विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउन सक्ने भन्दै नेतृत्व चयन नगर्ने पक्षमा थिए। गगन भने पार्टीको नेतृत्व र नीति दुवै परिवर्तन गर्नुपर्ने अडानमा थिए।
अन्ततः दुवै नेता संवाद र समन्वयमार्फत विशेष महाधिवेशनलाई निष्कर्षमा पुर्याउन सक्रिय भए। संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई स्वीकार नगरेको अवस्थामा पनि ५४ प्रतिशत प्रतिनिधि काठमाडौँ आएर नेतृत्व परिवर्तनको प्रक्रियालाई अघि बढाए। यसमा गगन र विश्वप्रकाशको भूमिका महत्त्वपूर्ण रह्यो।
विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्वमा नयाँ समीकरण बन्यो। गगन सभापति बने भने विश्वप्रकाश उनको साथमा उभिए। त्यसपछि २०७९ को निर्वाचनमा कांग्रेसले व्यहोरेको पराजय र गगन स्वयं सर्लाही-४ बाट पराजित भएको घटनाले नेतृत्वमाथि थप प्रश्न उठायो।
गगनले नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिए। तर विश्वप्रकाशसहितका नेताहरूले उनलाई पद छाड्नुभन्दा संघर्ष जारी राख्न आग्रह गरे। ‘छाड्ने होइन, लड्ने समय हो’ भन्ने सन्देशसहित उनीहरूले राजीनामा अस्वीकृत गर्न भूमिका खेले।
यसले गगनलाई कठिन राजनीतिक अवस्थामा पनि साथ दिने विश्वप्रकाशको भूमिका फेरि उजागर गर्यो। गगनले नेतृत्वको जिम्मेवारीबाट पछि हट्न खोज्दा विश्वले उनलाई अघि बढ्न प्रोत्साहित गरे। त्यसपछि दुवै नेता १५औँ महाधिवेशनमा नेतृत्वका लागि अघि बढे।
महाधिवेशनमा गगन सभापतिमा निर्वाचित भए। विश्वप्रकाश वरिष्ठ उपसभापति बने। कांग्रेसमा यसअघि नरहेको वरिष्ठ उपसभापतिको पद सिर्जना गरेर विश्वलाई जिम्मेवारी दिइएको विषयलाई पनि उनीहरूको सहकार्य र सम्मानको कडीका रूपमा हेरिएको छ।
विश्वप्रकाशले महाधिवेशन उद्घाटन सत्रमै गगनलाई सभापति बनाउने उद्घोष गरेका थिए। गगनलाई नेतृत्वमा पुर्याउन उनले दिएको साथ र गगनले विश्वलाई पार्टीको दोस्रो उच्च पदमा पुर्याएको घटनाले दुवै नेताको सम्बन्धलाई थप चर्चामा ल्याएको छ।
नेतृत्व परिवर्तनको सन्देश
गगन-विश्वको सहकार्यलाई कांग्रेसको आन्तरिक समीकरणका रूपमा मात्र हेर्दा यसको राजनीतिक अर्थ अधुरो हुन्छ। नेपाली राजनीतिमा लामो समयदेखि शीर्ष नेतृत्वमा रहेका नेताहरूको निरन्तरता र पुस्तान्तरणको बहस चल्दै आएको छ। एमालेमा केपी शर्मा ओली र नेकपामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहँदा पार्टीभित्र उत्तराधिकारी र नेतृत्व हस्तान्तरणको प्रश्न पनि उठिरहेको छ। तर नेतृत्व छाड्ने विषयमा उनीहरू तत्काल तयार देखिएका छैनन्।
यस्तो परिवेशमा कांग्रेसमा गगन र विश्वप्रकाशको अगुवाइमा पुरानो नेतृत्वलाई विस्थापित गर्दै नयाँ नेतृत्व स्थापित भएको घटनाले राजनीतिक वृत्तमा चर्चा पाएको छ। उनीहरूले पाएको प्रशंसा पदमा पुगेको कारणले होइन, नेतृत्व परिवर्तनको मागलाई व्यवहारमा उतारेको सन्दर्भसँग पनि जोडिएको छ।
दुवै नेताप्रति युवा पुस्ताको विश्वास देखिन्छ। उनीहरूको सहकार्यले कांग्रेसभित्र नयाँ पुस्ताको आकांक्षालाई संस्थागत गर्ने अवसर दिएको छ। यद्यपि नेतृत्वमा पुग्नु र त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु भिन्न कुरा हुन्। युवा पुस्ताको विश्वास कायम राख्न उनीहरूले पार्टीको संगठन, नीति, कार्यशैली र जनतासँगको सम्बन्धमा कस्तो परिवर्तन ल्याउँछन् भन्ने प्रश्न अब महत्त्वपूर्ण हुनेछ।
गगन र विश्वको सम्बन्धको वास्तविक परीक्षा पनि यहीँबाट सुरु हुन्छ। नेतृत्व परिवर्तनका लागि सहकार्य गर्नु एउटा उपलब्धि हो; त्यसपछि पार्टीलाई कसरी चलाउने, मतभेद कसरी व्यवस्थापन गर्ने र जनताको अपेक्षालाई कसरी सम्बोधन गर्ने भन्ने चुनौती अर्कै हो।
गगनले नेतृत्वको दाबीलाई अघि बढाए, विश्वप्रकाशले त्यसलाई साथ दिए। विश्वले वरिष्ठता हुँदाहुँदै गगनका लागि बाटो छाडे; गगनले पनि विश्वको योगदानलाई उच्च जिम्मेवारी दिएर सम्मान गरे। उनीहरूबीचको सहकार्यले दुवैलाई राजनीतिक उचाइमा पुर्याएको छ।
उनीहरूको सफलता पद बाँडफाँट र व्यक्तिगत मित्रतामा मात्र निर्भर रहने छैन। कांग्रेसमा नेतृत्व परिवर्तनको औचित्य प्रमाणित गर्न उनीहरूले पार्टीलाई कस्तो बनाउँछन् र युवा पुस्ताको विश्वासलाई व्यवहारमा कसरी रूपान्तरण गर्छन् भन्ने कुराले आगामी राजनीतिक यात्राको दिशा तय गर्नेछ।




