किसान, महिला र बालबालिकाको जीवनस्तर सुधार्दै सहज फाउन्डेसन

हिमाल प्रेस २८ असोज २०८३ १२:५९ | Wednesday, October 14, 2026
8
SHARES
किसान, महिला र बालबालिकाको जीवनस्तर सुधार्दै सहज फाउन्डेसन

काठमाडौँ- बाराको कोल्हबी नगरपालिका–५ ककडी र वडा नं. ३ जुआवामा रोटरी सामुदायिक समूह स्थापना गरिएको छ। रोटरी क्लब अफ डिल्लीबजार, काठमाडौँ र सहज फाउन्डेसनको संयुक्त पहलमा स्थापित समूहले स्थानीय समुदायको सहभागिता र नेतृत्वमा शिक्षा, स्वास्थ्य, कृषि, जीविकोपार्जन तथा महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नेछ।

सहज फाउन्डेसनका अध्यक्ष डा. हरिकृष्ण बाँस्कोटाका अनुसार स्थानीय आवश्यकता पहिचान गरी समुदायको स्वामित्वमा आधारित विकासका कार्यक्रम सञ्चालन गर्न समूह स्थापना गरिएको हो। यसक्रममा रोटरी क्लब अफ डिल्लीबजार, सहज फाउन्डेसन र सुरेन्द्र ढकाल फाउन्डेसनका प्रतिनिधिले स्थानीय अगुवा, महिला समूह, शिक्षक तथा समुदायका सदस्यसँग छलफल गरी विकासका प्राथमिकता पहिचान गरेका छन्।

यसैगरी सहज फाउन्डेसनको अग्रसरतामा कृषि तथा जीविकोपार्जन प्रवर्द्धनअन्तर्गत ककडी र जुआवाका १०० जना किसानलाई हिउँदे तरकारीका छ प्रकारका बिउ वितरण गरिएको छ।

यस कार्यक्रमले किसानलाई आफ्नै बारीमा तरकारी उत्पादन गर्न प्रोत्साहित गर्नुका साथै घरायसी उपभोगबाट खर्च घटाउन र अतिरिक्त उत्पादन बिक्री गरेर आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी महिला किसानलाई उत्पादन र बजारसँग जोडेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रमको लक्ष्य छ।

रोटरी सामुदायिक समूहका अध्यक्ष तथा कोल्हबी नगरपालिका–३ का वडाध्यक्ष किशुन दयाल चौधरीले रोटरी क्लब अफ डिल्लीबजार र सहज फाउन्डेसनको सहकार्यले स्थानीय किसान, विशेषगरी महिला किसानको आयआर्जनमा सहयोग पुग्ने बताए।

शिक्षा र स्वास्थ्यमा पनि सहयोग

सहज फाउन्डेसनले विगत दुई वर्षदेखि कोल्हबी क्षेत्रमा शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाको सहयोगमा दुई सामुदायिक ट्युसन केन्द्र सञ्चालनमा छन्। राष्ट्रिय प्राथमिक विद्यालय, ककडीका ७० विद्यार्थीसहित बालबालिकाले अतिरिक्त अध्ययनको अवसर पाएका छन्। संस्थाले दुई सय ४० विद्यार्थीलाई कापी तथा अन्य शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयको खानेपानी प्रणाली र मुख्य प्रवेशद्वार मर्मतमा सहयोग गरेको छ।

विद्यालयकी प्रधानाध्यापक कल्याणी चौधरीले सहज फाउन्डेसनले शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिन्।

स्वास्थ्यतर्फ तिलगंगा आँखा प्रतिष्ठानसँगको प्राविधिक सहकार्यमा समुदायस्तरमा आँखा परीक्षण, आवश्यकताअनुसार चस्मा वितरण र मोतीबिन्दुको शल्यक्रियामा पहुँच विस्तार गर्ने कार्यक्रम अघि बढाइएको छ। संस्थाले यसअघि सञ्चालन गरेको आँखा स्वास्थ्य कार्यक्रममा दुई सय ७५ जनाको आँखा परीक्षण गरिएको थियो।

दृष्टि कमजोर भएका ५३ जनालाई पढ्ने चस्मा वितरण गरिएको थियो भने मोतियाबिन्दु पहिचान भएका ७२ जनामध्ये ५३ जना ज्येष्ठ नागरिकको निःशुल्क शल्यक्रिया गरिएको थियो।

महिलालाई सीप र उद्यमशीलतासँग जोड्दै

सहज फाउन्डेसनले सीमान्तकृत समुदायको उत्थानका लागि ‘लिफ्ट : रूपान्तरणका लागि स्थानीय पहल’ (लोकल इनिसिएटिभ फर ट्रान्सफर्मेसन) अवधारणाअन्तर्गत साना तर प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत स्वरोजगार शिक्षा कार्यक्रममार्फत महिलालाई व्यावसायिक साक्षरता, सीप विकास र लघु उद्यमशीलतासँग जोड्ने प्रयास गरिएको छ।

कार्यक्रममा १९ देखि ४५ वर्ष उमेर समूहका विवाहित महिलालाई लक्षित गरिएको छ। पहिलो चरणमा सहभागी ३० जनामध्ये ५० प्रतिशतभन्दा बढी सीमान्तकृत समुदायका महिला छन्। तीन महिनाको व्यावसायिक साक्षरता कक्षामार्फत २५ जना निरक्षर महिला साक्षर बनेका छन्। कार्यक्रमको पहिलो छ महिनामा सीपमूलक तालिम र त्यसपछिको छ महिनामा लघु उद्यम तथा समूहमा आधारित व्यवसाय विकासका गतिविधि सञ्चालन गर्ने योजना छ। यससँगै लघु बचत प्रवर्द्धन र आमा समूह गठनमार्फत स्वास्थ्य चेतना अभिवृद्धिमा पनि जोड दिइएको छ।

कार्यक्रम सञ्चालनका लागि कोल्हबीकी रन्जु रामलाई काठमाडौंमा सातदिने प्रशिक्षक प्रशिक्षण दिइएको थियो। स्थानीय महिलालाई स्वरोजगारका लागि आर्थिक सहयोग उपलब्ध गराएको सुरेन्द्र ढकाल फाउन्डेसनप्रति सहज फाउन्डेसनले आभार व्यक्त गरेको छ। कार्यक्रम कार्यान्वयनमा प्राविधिक सहयोग पुर्‍याएको बाल विकास समाज, काठमाडौंको पनि संस्थाले प्रशंसा गरेको छ।

सहज फाउन्डेसनले आगामी तीन वर्षमा सामुदायिक ट्युसन र स्वरोजगार शिक्षा कार्यक्रम थप वडामा विस्तार गर्ने योजना बनाएको छ। जीविकोपार्जनका अवसर बढाउन जडीबुटी खेती, बाख्रापालन र कुखुरापालनका कार्यक्रम सञ्चालन गर्ने तथा विद्यालय छाडेका किशोरकिशोरी र युवालाई मोटरसाइकल मर्मत, विद्युतीय काम र सिलाइकटाइजस्ता प्राविधिक तालिम दिने लक्ष्य पनि राखिएको छ।

त्यस्तै, मातृ तथा बाल स्वास्थ्य र आधारभूत स्वास्थ्य सेवा सुधारका लागि स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य योजना निर्माणमा सहयोग गर्ने संस्थाको योजना छ। लहान र कञ्चनरूप नगरपालिकाका डोम तथा अन्य दलित समुदायको स्वास्थ्यमा प्रभाव पार्ने सामाजिक अवस्थाबारे कार्यमूलक अनुसन्धान गर्ने योजना पनि अघि सारिएको छ।

स्वास्थ्य तथा पोषणमा सुधार, सीमान्तकृत बालबालिकाको शिक्षामा पहुँच, महिलाको आर्थिक सशक्तीकरण र स्थानीय विकासका प्रभावकारी अभ्यासको अभिलेखीकरण सहज फाउन्डेसनका प्रमुख उद्देश्य हुन्। अनुसन्धान तथा ज्ञान आदानप्रदानमार्फत स्थानीयस्तरमा सफल भएका कार्यक्रम विस्तार गर्ने र नीति निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यसमेत संस्थाले राखेको छ।

रोटरी क्लब अफ डिल्लीबजारका सदस्यहरूले किसानलाई वितरण गरिएका बीउ खरिदका लागि आर्थिक सहयोग गरेका थिए। सहज फाउन्डेसनले सहयोगी क्लबका सदस्यहरूप्रति धन्यवाद व्यक्त गरेको छ। स्थानीय सरकार, सामुदायिक समूह र विकास साझेदारबीचको सहकार्यबाट समुदायको आवश्यकता सम्बोधन गर्दै दिगो विकास र स्थानीय परिवारको जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ असोज २०८३ १२:५९ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast