‘बैसाखी’ मार्फत आख्यान क्षेत्रमा उदाए यज्ञराज जोशी

हिमाल प्रेस २४ असोज २०८३ १९:४२ | Saturday, October 10, 2026
4
SHARES
‘बैसाखी’ मार्फत आख्यान क्षेत्रमा उदाए यज्ञराज जोशी

काठमाडौँ- पत्रकार एवं साहित्यकार यज्ञराज जोशी आफ्नो पहिलो कृति ‘बैसाखी’ कथासंग्रह लिएर आख्यान क्षेत्रमा देखिएका छन्। उनले सात वर्षको मिहिनेतपछि तयार पारिएको आफ्नो कथासंग्रह शनिबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरेका हुन्।

प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार एवं समालोचक ज्ञानु अधिकारी र समालोचक तथा कृतिका सम्पादक सुभाषचन्द्र भण्डारीले संयुक्त रूपमा ‘बैसाखी’ लोकार्पण गरे।

लोकार्पण समारोहमा वक्ताहरूले ‘बैसाखी’ले भुइँमान्छेका संघर्ष, महिलाका पीडा, ग्रामीण जीवन र सीमान्तकृत समुदायका कथालाई आख्यानमा समेटेको बताए। उनीहरूले जोशीको लेखनमा आधुनिक कथाशिल्प, काव्यात्मकता र नारीवादी मनोविज्ञानको सशक्त प्रस्तुति रहेको चर्चा गरे।

प्रमुख अतिथि प्राध्यापक डा. अवस्थीले पत्रकारिताबाट आएका लेखकका शब्दमा शक्ति हुने उल्लेख गर्दै जोशीमा सिर्जनात्मक प्रतिभा, इच्छाशक्ति र लोकपरिवेशलाई लेखनमा उतार्ने क्षमता रहेको बताए। उनले कथाको शैली काव्यात्मक हुँदा कथानक कमजोर हुन सक्ने र लेखक विषयवस्तुबाट बहकिन सक्ने सम्भावनाप्रति सचेत रहन पनि सुझाव दिए।

समीक्षक अधिकारीले ‘बैसाखी’ लाई भुइँमान्छेको इतिहास समेटिएका कथाको सङ्ग्रहका रूपमा व्याख्या गरिन्। उनका अनुसार कृतिमा माटोको सुगन्धसँगै महिलाका आँसु, पीडा र नारीवादी मनोविज्ञानले स्थान पाएका छन्। समाजले उपेक्षा गरेका वर्गका पात्रलाई नायकका रूपमा प्रस्तुत गर्नु कृतिको उल्लेखनीय पक्ष रहेको उनले बताइन्।

‘लेखक जोशीले माटोका कथा लेख्नुभएको छ। महिलाका आँसु र पीडाका कथा छन्। निरीह पारिएका वर्ग नायकका रूपमा प्रस्तुत भएका छन्,’ अधिकारीले भनिन्।

कथाका पात्रले जस्तै समाजका सबै पुरुषले महिलालाई सम्मान गर्ने भए संसार कति सुन्दर हुन्थ्यो भन्ने भाव आफूमा कृति पढ्दा पैदा भएको उनले सुनाइन्।

कृतिका सम्पादक भण्डारीले जोशीको लेखनमा आधुनिक कथाशिल्प र पछिल्लो पुस्ताको मनोभाव गहिरोसँग आएको बताए। बाल्यकालदेखि गाउँपरिवेशसम्मका विषयलाई लेखकले सूक्ष्म रूपमा उतारेको उनको भनाइ थियो। कतिपय कथामा वास्तविक पात्रको अनुमतिसमेत लिएर कथा बुन्नु लेखकको नवीन प्रयोग भएको उनले उल्लेख गरे।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. टीएन जोशीले आफूले लेखकलाई दुई दशकदेखि चिनेको र उनी साहित्यिक गतिविधिमा निरन्तर सक्रिय रहेको स्मरण गरे। सुदूरपश्चिमको भूमिबाट दुःख र सङ्घर्ष गर्दै अघि बढेका जोशीले भुइँमान्छेकै जीवन र भोगाइलाई लेखनको विषय बनाएकोमा उनले खुसी व्यक्त गरे।

त्रिवि पाटन संयुक्त क्याम्पससका उपप्राध्यापक माधव नेपालले ‘बैसाखी’ लेखनका क्रममा आफूले दिएका सुझावलाई आत्मसात् गर्दै जोशीले कृतिलाई पूर्णता दिएको बताए। सात वर्ष लगाएर पुस्तक प्रकाशन गर्नुले लेखकको धैर्य र मिहिनेत झल्काउने उनको भनाइ थियो।

‘उहाँ प्रतीक्षा गर्न सक्ने व्यक्ति हो। सात वर्ष लगाएर बैसाखी बजारमा ल्याउनुभयो। मिहिनेत गर्ने हुटहुटी र प्रतीक्षा गर्न सक्ने जोशीको बानीबाट म प्रभावित छु,’ नेपालले भने।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले एक दशकदेखि जोशीलाई निकटबाट चिनेको उल्लेख गर्दै उनको मिहिनेतको प्रतिफलका रूपमा आएको कृति पढ्न पाउँदा खुसी लागेको बताए। शब्दसँग रमाउन सक्ने जोशीले साहित्यिक कर्मलाई निरन्तरता दिनुपर्ने उनको सुझाव थियो।

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसभापति एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आनन्द विष्टले लेखकको व्यक्तिगत जीवन कष्टकर हुन सक्ने भए पनि आफ्नो बौद्धिक सम्पत्ति पाठकमाझ ल्याउँदा प्राप्त हुने सन्तुष्टि अमूल्य हुने बताए। उनले जोशीको मिलनसार र मिजासिलो स्वभावको प्रशंसा गरे।

कृतिकार जोशीले ‘बैसाखी’मार्फत आफूले भन्न चाहेका कुरा प्रस्तुत गरिसकेको बताउँदै अब पाठकका सुझावलाई अमूल्य निधि मानेर अघि बढ्ने बताए। साहित्यप्रतिको आफ्नो आकर्षण आमाबाट प्राप्त प्रेरणासँग जोडिएको उनले सुनाए।

‘आमाले दुई दशकअघि भारतमा रहनुभएका पितालाई चिठी लेख्न भन्नुहुन्थ्यो। चिठीको अन्तिममा देउडा लेख्नुहुन्थ्यो। म त्यसैबाट प्रेरित भएर साहित्यिक क्षेत्रमा आकर्षित भएको हुँ। आज त्यही प्रेरणाले बैसाखीको रूप लिएको छ,’ उनले भने।

शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ऊर्जावान् युवा लेखक जोशीको कृति प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए। लोकार्पणअघि नै पुस्तकको माग बढिसकेको उनको भनाइ थियो।

पत्रकार दीपक जोशीले सहजीकरण गरेको समारोहमा सार्वजनिक ‘बैसाखी’को बजार मूल्य ५९५ रुपैयाँ रहेको छ।

प्रकाशित: २४ असोज २०८३ १९:४२ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast