काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजदेखि उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु हुने भएको छ । सोमबारको बन्दसत्रले पार्टीको २९७ सदस्यीय जम्बो केन्द्रीय कार्यसमिति निर्माणसम्बन्धी संशोधित विधान अनुमोदन गरेसँगै महाधिवेशन अब निर्वाचनको निर्णायक चरणमा प्रवेश गरेको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । अपराह्न ४:३० बजे अन्तिम नामावली प्रकाशन, त्यसपछि दाबीविरोध र साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
बुधबार बिहान नाम फिर्ता र अन्तिम नामावली प्रकाशनपछि दिनभर प्रचारप्रसार हुनेछ भने असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ। यसपटक मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ। बागमतीका लागि सभागृह, गण्डकी तथा लुम्बिनीका लागि प्रज्ञा भवन र कोशी, मधेस, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै भ्रातृरशुभेक्षुक संस्थाका प्रतिनिधिहरूका लागि खुलामञ्चलाई मतदान स्थल बनाइएको छ।
निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नगरिने र मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ। नयाँ विधानअनुसार अब कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४ (एक महिला अनिवार्य), महामन्त्री ३ (एक महिला अनिवार्य) र सहमहामन्त्री १५ जना रहने व्यवस्था गरिएको छ।
सहमहामन्त्रीमध्ये ११ जना विभिन्न क्लस्टरबाट निर्वाचित हुनेछन् भने ४ जना सभापतिले मनोनयन गर्नेछन्। त्यस्तै कोषाध्यक्ष पनि केन्द्रीय सदस्यबाट सभापतिले नै मनोनीत गर्नेछन् भने एक जना प्रवक्ता र आवश्यकता अनुसार सहप्रवक्ता राखिनेछ।
नयाँ विधानअनुसार केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ र महिला खुलाबाट १५ जना निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जनाका दरले २८ र उपत्यकाबाट एक महिलासहित दुई जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै दलिततर्फ पाँच महिलासहित १४, आदिवासी जनजातिबाट आठ महिलासहित २०, खसआर्यबाट आठ महिलासहित १८ र मधेसीबाट पाँच महिलासहित १३ जना केन्द्रीय सदस्य रहनेछन्।
यसैगरी थारूबाट ६, मुस्लिमबाट ५, पिछडिएको क्षेत्रबाट २ र अल्पसंख्यकबाट १ जना समेटिएका छन्। अपाङ्गता भएका प्रतिनिधिबाट १, श्रमिकबाट ३ र पेसागत तथा विषयगत क्षेत्रबाट ७ जना केन्द्रीय सदस्य हुनेछन्।
जेनजी पुस्ताको सहभागिता सुनिश्चित गर्न सातै प्रदेशबाट ३५ वर्ष मुनिका २१ जना युवाहरू केन्द्रीय समितिमा समेटिनेछन् भने जनसम्पर्क समितिबाट ७ तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारबाट ३ जना निर्वाचित हुनेछन्।
सभापतिलाई थप ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिइएको छ भने संसदीय दलका नेता र प्रदेश सभापतिहरू पदेन सदस्य हुनेछन्।



