बुटवल- बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस आन्तरिक किचलोका कारण पाँच महिनादेखि क्याम्पस प्रमुखविहीन बनेको छ। तत्कालीन क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले व्यक्तिगत कारण देखाउँदै गत वैशाख १७ गते क्याम्पस प्रमुख पदबाट राजीनामा दिएपछि वाणिज्य क्याम्पस प्रमुखविहीन बनेको हो।
क्याम्पस सञ्चालक समितिले उपाध्यायको राजीनामापछि निमित्त क्याम्पस प्रमुखका रूपमा डिल्लीराज गौतमलाई जिम्मेवारी दिएको छ। तत्कालीन क्याम्पस प्रमुख डा. उपाध्यायको राजीनामापछि सञ्चालक समितिले गत जेठ २५ गते खुलाएको नयाँ क्याम्पस प्रमुखको विज्ञापन आन्तरिक किचलोका कारण विवादित भएपछि क्याम्पस प्रमुख छनोट प्रक्रिया अवरुद्ध भएको छ।
क्याम्पस प्रमुखको विज्ञापनको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले क्याम्पस प्रमुखसहित सम्पूर्ण प्रशासनिक निकायमा तालाबन्दी गरिदिएका छन्। विज्ञापनमा प्राध्यापक संघको समेत ‘नोट अफ डिसेन्ट’ रहेको छ। विद्यार्थी संगठनले आफूहरुको माग पूरा नभएको भन्दै विगत साढे चार महिनादेखि क्याम्पस प्रमुखसहित प्रशासनिक निकायमा लगाएको ताला खोलेका छैनन्।
गत असार १ गते नेविसंघका अमित गुप्ता, अखिल क्रान्तिकारीका निशा बन्जाडे र अखिल (समाजवादी) का अमृता सिले संयुक्त विज्ञप्ति जारी गर्दै निजी शैक्षिक संस्थामा लगानी गर्दा स्वार्थ बाझिने भन्दै मापदण्ड संशोधन तथा निवर्तमान क्याम्पस प्रमुखमाथि छानबिन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए। ‘तत्कालीन क्याम्पस प्रमुखको राजीनामापछि खोलिएको विज्ञापनमा हाम्रो असहमति छ’, अखिल क्रान्तिकारीका विद्यार्थी नेता प्रशान्त बन्जाडेले भने। उनले नयाँ क्याम्पस प्रमुखका लागि खोलिएको विज्ञापनको मापदण्ड नसच्याएसम्म आफूहरूको विरोध कायमै रहने बताए।
क्याम्पस प्रमुख नियुक्तिका लागि क्याम्पससँग स्वार्थ बाझिने गरी निजी शैक्षिक संस्थाहरूमा आफू र आफ्नो परिवारले समेत लगानी नगरेको र विगतमा लगानीको गरेको भए सेयर किनबेच गरेको कम्तीमा पाँच वर्ष हुनुपर्ने प्रावधान राख्न अखिल क्रान्तिकारीको माग रहेको उनले बताए। उनले निवर्तमान क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको आरोप लगाए।
क्याम्पस प्रमुखका लागि निजी शैक्षिक संस्थामा आफ्नो वा एकाघरका परिवारको नाममा लगानी हुन नहुने र लगानी भएर बिक्री गरेको भए कम्तीमा पाँच वर्ष पुगेको हुनुपर्ने माग विद्यार्थीहरूको छ।
नेविसंघका नेता सन्दीप पाण्डेयले पनि पूरानो विज्ञापन रद्द गर्न माग गरेका छन्। नेकपा एमाले निकट अनेरास्ववियु भने मौन बसेको छ।
प्राध्यापक संघका अध्यक्ष मधुकर शर्माले गत जेठ २५ मा खुलाइएको विज्ञापनको मापदण्डमा आफूहरुको विरोध भएकाले आवेदन प्रक्रियामा भाग नलिएको बताए। उनले विज्ञापनको सिफारिस गर्ने आधार तथा मापदण्डको ‘ङ’मा रहेको बुँदामा एकाघरको लगानी नभएको हुनुपर्ने माग रहेको बताए।
मापदण्डमा क्याम्पससँग स्वार्थ बाझिने गरी विभिन्न निजी शैक्षिक संस्थाहरुमा सम्बन्धित व्यक्तिको लगानी नभएको÷नगरेको स्वघोषणा हुनुपर्ने प्रावधान राखेको छ। विद्यार्थी संगठन र प्राध्यापक संघको समेत यस विषयमा एकमत देखिएको छ। यस आधारमा अब मापदण्ड संशोधन गरी नयाँ विज्ञापन निकाल्नुपर्ने माग राखेका छन्।
यसअघि जेठ २५ गतेको विज्ञापनअनुसार प्राध्यापक डा. भरत भुसालको मात्रै आवेदन परेको छ। सञ्चालक समितिले पुरानो विज्ञापन खारेज गर्ने कि नगर्ने केही निर्णय गरेको छैन।
निमित्त क्याम्पस प्रमुखसँग पूर्ण अधिकार नहुने भएकाले प्रशासनिक काम प्रभावकारी हुन सकेको छैन।
बुटवलमा सामाजिक संघसंस्थाहरुको अग्रसरतामा खुलेको सामुदायिक क्याम्पस आन्तरीक कलहमा डुब्दा पनि समस्याको गाँठो फुकाउने प्रयत्न भएको छैन। सञ्चालक समितिले स्थायी प्राध्यापकमध्येबाट विज्ञापन खुलाएर वा नखुलाएर पनि क्याम्पस प्रमुख नियुक्त गर्न सक्छ। हाल सञ्चालक समितिका अध्यक्ष उद्योगी सुरेन्द्रप्रसाद श्रेष्ठ हुन्।
सञ्चालक समितिको सदस्यमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय पदेन सदस्य छन्। यस्तै बुटवल उपमहानगरपालिका वडा न. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, त्रिभुवन विश्वविद्यालयको प्रतिनिधिका रुपमा बुटवल बहुमुखी क्याम्पस प्रमुखसहितका व्यक्तिहरु सदस्य छन्। बुटवल जनप्रतिनिधि, व्यावसायिक र शैक्षिक व्यक्तिहरु सञ्चालक समिति रहेको क्याम्पस अनिर्णयको बन्दी हुनुले गम्भीर प्रश्न उब्जाएको छ।
यसअघि खुलाइएको विज्ञापनमा विद्यार्थी संगठन र प्राध्यपकहरुको समेत विरोध भएकाले टुंगो पुग्न नसकेको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले बताए। उनले अब अर्को सूचना निकाले प्रतिस्पर्धाका आधारमा क्याम्पस प्रमुख छनोट गर्नेबारेमा छलफल भएको बताए।
क्याम्पसका संस्थापक सदस्यसमेत रहेका महेश्वरप्रसाद श्रेष्ठको संयोजकत्वमा बनाइएको नयाँ क्याम्पस प्रमुख छनोट उपसमिति विवादित बनेको हो। विद्यार्थी संगठनको ताला यथावत् छ भने प्राध्यापक संघको माग पनि उही छ।
निमित्त क्याम्पस प्रमुख डिल्लीराज गौतमले नियमित पठनपाठनमा कुनै अवरोध नभएको बताए। उनले आफू निमित्तको जिम्मेवारीमा रहँदा नियमित पठनपाठन र प्रशासनिक काम नरोकिएको बताए। उनले सञ्चालक समितिले यसबारे चाँडै निर्णय गर्ने बताए।
बुटवल–११, देवीनगरस्थित क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो। विश्वविद्यालय अनुदान आयोग, नेपालबाट तेस्रो पटक ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए)’ प्राप्त गरेको क्याम्पसमा हाल चार हजार विद्यार्थी अध्ययनरत छन्। क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।
तत्कालीन बुटवल नगर पञ्चायत र उद्योगी व्यवसायीहरूको अग्रसरतामा २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट सुरु भएको थियो। २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर आइकम सुरु गरेको थियो । हाल क्याम्पसमा प्राध्यापक, अध्यापक तथा कर्मचारी गरी ७२ जना छन्।




