असोज ९-११ को वर्षाले बागलुङमा भीषण क्षति : ६१ घर गोठ बग्दा १२ जनाको मृत्यु

हिमाल प्रेस १४ असोज २०८३ ८:०४ | Wednesday, September 30, 2026
4
SHARES
असोज ९-११ को वर्षाले बागलुङमा भीषण क्षति : ६१ घर गोठ बग्दा १२ जनाको मृत्यु

बागलुङ- यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिराले जिल्लामा ६१ घर-गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति भएको छ।

बागलुङका ५१ घर र १० गोठ बाढीले बगाएको छ । बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालय बगाएको छ । तीनवटा झोलुङ्गे पुल बगाएको र दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुईवटा जलविद्युत्मा आंशिक क्षति, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा क्षति पुगेको छ भने २५६ वटा पशुचौपाय क्षति भएको छ भने २१५ वटा कुखुरा मरेका छन् ।

निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन्। पहिरोमा परी चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ । निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ ।

तमानखोला–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बडिगाड –९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ।

ढोरपाटन –७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ । तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

यस्तै गलकोट –१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ । काठेखोला – १, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको छ । बाढीपहिरोमा मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन् । तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले जानकारी दिए।

–––

प्रकाशित: १४ असोज २०८३ ८:०४ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast