काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स, साइबर सेक्युरिटी र चिकित्सा शिक्षालाई विस्तार गर्ने योजना अघि सारेको छ। विश्वविद्यालयले यी क्षेत्रलाई प्राथमिकतामा राख्दै १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको हो।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार पन्नाबहादुर थापाले प्रस्तुत गरेको आयव्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो।
विश्वविद्यालयले बदलिँदो प्रविधि र श्रम बजारको आवश्यकतालाई ध्यानमा राख्दै एआई, डाटा साइन्स र साइबर सेक्युरिटीलगायतका क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम सञ्चालन गर्ने भएको छ। चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ पनि आवश्यकता अनुरूप विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने नीति लिइएको छ।
विश्वविद्यालयका अनुसार गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गरिनेछ। यससँगै प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत डिजिटल इकोसिस्टममा जोडेर सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने योजना छ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृशिशु अस्पताललाई आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुदृढ गर्ने कार्यक्रमसमेत अघि सारिएको छ।
सभामा बोल्दै शिक्षामन्त्री पोखरेलले बदलिँदो प्रविधि र विश्वव्यापीकरणअनुसार उच्च शिक्षालाई रूपान्तरण गर्नुपर्ने बताए। विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।
पारित नीति तथा कार्यक्रम प्रभावकारी बनाउन कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न उनले निर्देशन दिए। शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बजेटको प्रभावकारी कार्यान्वयन गर्दै शैक्षिक प्रणाली सुधारमा केन्द्रित हुनुपर्ने बताए।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम सकारात्मक रहेको बताए।विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने योजना पनि बनाएको छ।
विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने कार्यक्रम पनि बजेटमा समेटिएका छन्।
सभाले कार्यकारी परिषद्का लागि तीन वर्षका लागि तीन जनालाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ। डीनबाट चिकित्साशास्त्र संकायकी डीन परिचा उपाध्याय ढुंगेल, कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन कृष्णप्रसाद पाण्डे तथा शिक्षकबाट पू.वि. स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गरिएको विश्वविद्यालयले जनाएको छ।



