बागलुङ- अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ।
बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै मुख्य खानेपानीको पाइपमा गम्भीर क्षति पुर्याएको छ। कैलामपोखरीमा रहेको लिफ्टमार्फत सुल्डाँडा र मुश्यास्वाराको ट्यांकीतर्फ लगिएको पाइपमा क्षति पुगेको छ।
यस्तै, तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठेखोलाको मुहानबाट बजारमा ल्याइएको पाइप तथा काठेखोला गाउँपालिकास्थित भुँदीखोलाको मुहानबाट ल्याइएको पाइपमा बाढीले क्षति पुर्याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।
संस्थाका सचिव जीवन आचार्यका अनुसार, बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चारवटा मुहानमा वर्षा र बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले ठाउँठाउँमा पाइप बगाउनुका साथै वितरण प्रणालीमा क्षति पुर्याएको उनले बताए।
रिठेखोलामा जडान गरिएको करिब ८० मिटर पाइप बाढीले बगाएको छ। कतिपय स्थानमा पाइप बगाएको र कतिपय ठाउँमा मर्मत गर्नुपर्ने अवस्था रहेको आचार्यले जानकारी दिए।
बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीका अनुसार, रिठेखोलाबाट ल्याइएको पाइप मर्मत सम्पन्न भइसकेको छ। मुख्य मुहान र वितरण प्रणालीमा क्षति पुगेपछि ठूलो सङ्ख्यामा उपभोक्ता प्रभावित भएका छन्। रासस



