बाजुरा- केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै यहाँको जनजीवन क्रमशः सामान्य लयमा फर्किँदै गएको छ ।
आइतबार आंशिक रुपमा सुधार भएको मौसम आजदेखि आकाश खुल्दै घाम लागेपछि जिल्लाका बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा पुनः नियमित हुन थालेका छन् ।
लगातारको वर्षाले प्रभावित जिल्लाभर लामो तथा छोटो दूरी सवारीसाधन पुनः सञ्चालन हुन थालेका छन् भने आजदेखि शैक्षिक संस्थाहरु पनि खुलेका छन् । यस्तै, वर्षाले अवरुद्ध बनेका केही ग्रामीण सडकमा पनि सवारीसाधन सञ्चालन सुरु भएको छ ।
वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड आइतबार नै पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मौसम सुधारसँगै किसानहरू पनि खेतबारीको काममा व्यस्त हुन थालेका छन् । वर्षाका कारण ग्रामीण क्षेत्रमा रोकिएको धान बाली काट्ने लगायतका दैनिक काम पुनः सुरु भएको स्थानीय वीरबहादुर बुढाले बताए। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मौसममा बिस्तारै सुधार आउन थालेपछि यहाँको जनजीवन पनि सामान्य बन्दै गएको बताउनुभएको छ ।
उनका अनुसार जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दूरीको यातायात आइतबारदेखि नै सुरु गरिएको छ ।



