मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

हिमाल प्रेस ११ असोज २०८३ २१:२९ | Sunday, September 27, 2026
10
SHARES
मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह फाइल तस्बिर

काठमाडौँ- मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आइतबार साँझदेखि प्रहरीले माइकिङ गर्न थालेको छ।

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार साँझ करिब ७ः०० बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी मस्र्याङ्दी नदी आसपासका बस्तीमा माइकिङ गर्ने काम भइरहेको छ।

खुदी, भकुण्डे, पाउदीलगायत नदी आसपासका बस्तीका स्थानीयवासीलाई घरमा नबस्न तथा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उनले बताए।

खनालका अनुसार अहिले मस्र्याङ्दी नदीको पानीको बहाव केही कम भए पनि मनाङतर्फ घट्टे खोलामा पहिरो झर्नेक्रम जारी छ। पहिरोका कारण खोला थुनिएर एक्कासी ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति हुनसक्ने उच्च जोखिम रहेकाले सावधानी अपनाइएको हो।

‘अहिले पानीको बहाव केही कम भएको छ। तर माथिल्लो क्षेत्रमा घट्टे खोलामा पहिरो झरिरहेको छ। कुनै पनि बेला खोला थुनिन सक्छ र थुनिएर ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति हुनसक्ने उच्च जोखिम छ,’ प्रजिअ खनालले भने।

उनका अनुसार पाउदीलगायत केही स्थानमा यसअघि नै बाढीको प्रभाव देखिएको छ। तत्काल ठूलो समस्या नदेखिए पनि घट्टेखोला थुनिएर पानी एक्कासी आएमा जोखिम अझ बढ्नसक्ने भएकाले नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उनले बताए।

यसैगरी, जोखिमलाई ध्यानमा राख्दै ७० मेगावाटको मध्य मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनालाई गेट खोलेर पानी निकास गर्न र विद्युत् उत्पादन बन्द गर्न आग्रह गरिएको प्रजिअ खनालले बताए।

विभिन्न निर्माणाधीन आयोजनामा रहेकालाई आयोजना छाडेर अन्यत्र बस्न लगाइएको उनले बताए। नदी आसपासका बस्तीका स्थानीयवासीलाई नदी किनार तथा आसपासका क्षेत्रमा नजान र सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ।

प्रकाशित: ११ असोज २०८३ २१:२९ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast