काठमाडौँ- कम्पनीले आफ्नो नाफा-नोक्सान देखाउने तरिकामा परिवर्तन हुने भएको छ। लेखामान बोर्ड नेपालले वित्तीय विवरण तयार गर्ने नयाँ व्यवस्था एनएफआरएस १८ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको छ।
लेखामान बोर्डका अध्यक्ष रमेशकुमार धितालका अनुसार नयाँ व्यवस्थाले कम्पनीले कमाएको आम्दानी र गरेको खर्च अझ स्पष्ट रूपमा देखाउन सहयोग गर्नेछ। यसबाट विभिन्न कम्पनीको वित्तीय अवस्था र कामको परिणाम तुलना गर्न पनि सहज हुनेछ।
नयाँ व्यवस्था लागू भएपछि कम्पनीले आम्दानी र खर्चलाई विभिन्न समूहमा छुट्याएर वित्तीय विवरणमा देखाउनुपर्नेछ। मुख्य रूपमा व्यवसाय सञ्चालन, लगानी र वित्तीय गतिविधिबाट भएको आम्दानी तथा खर्च छुट्टाछुट्टै देखाउने व्यवस्था गर्न लागिएको हो।
धितालका अनुसार नयाँ व्यवस्था लागू भएपछि कम्पनीले आफ्नो लेखा राख्ने प्रणालीमा समेत केही परिवर्तन गर्नुपर्ने हुन सक्छ। खाताको ढाँचा, लेखा प्रणाली, सफ्टवेयर र वित्तीय प्रतिवेदन तयार गर्ने तरिकामा आवश्यकताअनुसार सुधार गर्नुपर्नेछ।
‘नयाँ व्यवस्था लागू भएपछि सुरुमा कम्पनीलाई केही थप तयारी गर्नुपर्ने हुन्छ। तर यसले वित्तीय विवरणलाई अझ स्पष्ट र तुलना गर्न मिल्ने बनाउँछ,’ धितालले भने।
बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र लगानीसम्बन्धी व्यवसाय गर्ने संस्थामा यसको प्रभाव केही फरक पर्न सक्ने बोर्डले जनाएको छ। यस्ता संस्थाले आफ्नो मुख्य व्यवसायअनुसार आम्दानी र खर्च छुट्याउनुपर्ने भएकाले थप तयारी आवश्यक पर्न सक्छ।
एनएफआरएस १८ लागू भएपछि लेखा पढाउने पाठ्यक्रम र अध्ययन सामग्रीमा समेत परिवर्तन गर्नुपर्ने हुन सक्छ। विद्यालयदेखि विश्वविद्यालयसम्म पढाइने लेखासम्बन्धी विषयमा आम्दानी, खर्च र नाफा-नोक्सान देखाउने नयाँ तरिका समेट्नुपर्ने आवश्यकता पर्नेछ।
लेखा शिक्षक, विद्यार्थी, लेखा व्यवसायी तथा वित्तीय विवरण प्रयोग गर्ने अन्य व्यक्तिलाई पनि नयाँ व्यवस्थाबारे जानकारी र तालिम आवश्यक पर्ने धितालले बताए।
उनका अनुसार बोर्डले मस्यौदामाथि कम्पनी, लेखापरीक्षक, लगानीकर्ता, नियामक निकाय, पेसागत संस्था, शिक्षाविद् तथा वित्तीय विवरण प्रयोगकर्ताबाट सुझाव मागेको हो।
प्राप्त सुझावका आधारमा नेपालको आर्थिक तथा व्यावसायिक अवस्थासँग मिल्ने गरी मस्यौदालाई अन्तिम रूप दिइने धितालले बताए।



