तस्बिर : मुग्लिङ बजार
काठमाडौँ- अविरल वर्षालमुख्य राजमार्ग तथा सडक खण्डहरूमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। सडक विभागले शनिबार बिहान ९:३० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार देशका दर्जन बढी मुख्य सडकहरूमा गम्भीर अवरोध सिर्जना भएको छ।
देशको मुख्य राजमार्ग मानिने पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङ लगायतका स्थानमा पहिरो खस्दा यातायात पूर्ण रुपमा बन्द भएको छ। निरन्तरको वर्षाका कारण स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको भए पनि सडक विभागले विभिन्न स्थानमा पहिरो पन्छाउने कार्य सुरु गरिसकेको छ। बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडा लगायतका स्थानमा सडक अवरुद्ध भएको छ। त्यहाँ पहिरो जानुका साथै डाइभर्सन समेत बगाएकाले राजमार्ग पुनः सञ्चालनमा ल्याउन निरन्तर प्रयास भइरहेको छ।
कर्णाली राजमार्गका गगने खोला, नाग्म-जुम्लाको राँका क्षेत्र लगायत विभिन्न स्थानमा साना-ठूला पहिरो र ढुङ्गा खसेका कारण सडक पूर्णरुपमा अवरुद्ध छ। सडक खुलाउनका लागि सबैतर्फबाट लोडरसहितका टोली परिचालन गरिएको छ। यस्तै, सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा-सल्लेरी खण्डको सोलु खोला नजिक सडक भासिएकाले सवारी आवागमन ठप्प छ भने थप वर्षा नभएमा आज बेलुकीसम्ममा मेसिनको प्रयोग गरी ‘ब्याक कटिङ’ गरेर यातायात सुचारु गर्ने प्रयास भइरहेको छ। कान्ति राजमार्ग भने आंशिक रूपमा सञ्चालनमा आएको छ। मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सुचारु गरिए पनि ललितपुरको चपली र तकुर्चे लगायतका स्थानमा काम जारी रहेकाले आज बिहान १० बजेपछि पूर्ण सञ्चालनमा आउने अनुमान गरिएको छ।
देशका अन्य महत्त्वपूर्ण सडकखण्डहरूको अवस्था पनि उस्तै जोखिमपूर्ण छ। मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेको छ भने कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा ठूलो पहिरो गएको छ। यी दुवै स्थानमा पहिरो हटाउन मेसिनहरू तयारी अवस्थामा/स्ट्यान्डबाइ राखिएका छन्।
यसैगरी, तमोर करिडोरको छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेकाले सडक अवरुद्ध छ र बहाव घट्नासाथ खुलाउने तयारी छ। राप्ती राजमार्गको कपुरकोट र बागलुङ-बेनी सडकको हुलाके क्षेत्रमा खसेको पहिरो पन्छाउन मेसिन परिचालन भइसकेको छ। भालुवाङ-चकचके-लिवाङ सडकमा भने मेसिनले पहिरो हटाउने काम गरिरहँदा साना सवारी साधनहरू सावधानीपूर्वक सञ्चालन भइरहेका छन्।
विपद्को यस समयमा सडक विभागले सबै यात्रु तथा सवारी चालकहरूलाई यात्रा गर्नुअघि सडकको अवस्था अनिवार्य रूपमा बुझ्न आग्रह गरेको छ। सडक अवरोध सम्बन्धी थप र ताजा विवरण सडक विभागको आधिकारिक वेबसाइटबाट समेत हेर्न सकिने व्यवस्था मिलाइएको छ।



