काठमाडौँ- भारत सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार दर घटाएपछि नेपालबाट भारत तर्फ हुने खाने तेल निर्यात प्रभावित हुने सम्भावना बढेको छ।
नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा पर्ने सोयाबिन तेल र सुर्यमुखी तेल भारततर्फ निर्यात ठप्प हुने अवस्था आए खाने तेल उद्योगहरु बन्द हुनुका साथै मजदुरहरु कामविहीन हुने व्यवसायीहले जनाएका छन्।
भारत सरकारले सेप्टेम्बर २४ तारिखदेखि सोयाबिन र पाम तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको साढे १६ प्रतिशत भंसारलाई घटाएर साढे ११ प्रतिशत र सुर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको साढे १६ प्रतिशत भंसारलाई घटाएर साढे ५ प्रतिशत पुर्याएको छ।
कच्चा पदार्थमा अत्यधिक भंसार दर घटाइएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका साथै अन्य क्षेत्रका खाने तेल उद्योगहरुले भारतमा प्रतिस्पर्धा गर्न नसक्ने र निकासी नै बन्द हुने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए।
उनले भारत तर्फनिकासी गर्ने गरी आयात गरिएको कच्चा पदार्थबाट प्रशोधित खाने तेलहरु भने घाटा खाएर भए पनि भारत निर्यात गर्नैपर्ने स्थिति रहेको बताए।
भारत तर्फ निकासी हुने खाने तेल साफ्टाअन्तर्गत भारत तर्फनिकासी हुँदा शुन्य भन्सार तिर्नुपर्ने र ५ प्रतिशतमात्र जिएसटी लाग्ने गर्दथ्यो। करिब ५ प्रतिशतको मार्जिन समेत भारतले घटाई दिँदा निकासीको सम्भावना अन्त्य भएको खाने तेल उद्योगीहरुले बताएका छन्।



