काठमाडौँ- उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबारदेखि वर्षा भइरहेको हो।
मौसमविद्का अनुसार आज र भोलि पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। आइतबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ।
निरन्तरको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम हुन सक्ने भएकाले देशभर सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थान, मधेश प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा तथा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज गण्डकी र लुम्बिनीमा वर्षा केन्द्रित हुने
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आज बिहानदेखि गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा तथा लुम्बिनी प्रदेशको विशेषगरी महाभारतदेखि तल्लो भेगमा वर्षा केन्द्रित हुने सम्भावना छ। कोशी प्रदेशतर्फ भने वर्षाको तीव्रता केही कम हुने उनको पूर्वानुमान छ।
मौसमविद्ले आज र भोलि लामोदूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।



