चिलिमे सुरुङभित्र चार शव फेला

हिमाल प्रेस ३१ भदौ २०८३ १६:१३ | Wednesday, September 16, 2026
चिलिमे सुरुङभित्र चार शव फेला

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोजीका क्रममा तीन वटा शव फेला परेका छन्। सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भने चार वटा शव निकालिएको जनाएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोताखोरसहितको संयुक्त खोज तथा उद्धार टोलीले बुधबार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा तीन शव फेला पारेको हो। तीमध्ये दुई शव उद्धार गरी बाहिर निकालिएको छ भने बाँकी एक शव निकाल्ने काम जारी छ।

सुरुङभित्र फसेकाको उद्धारका लागि विदेशीसहितको संयुक्त टोली परिचालन गरिएको थियो। हेलिकप्टरमार्फत स्याफ्रूबेँसीमा पुर्‍याइएको एक्स्काभेटर र लोडर प्रयोग गरी चट्टान फोड्दै करिब एक हजार ५० मिटर बाटो निर्माण गरेर सुरुङसम्म उपकरण पुर्‍याइएको निर्देशनालयले जनाएको छ।

उद्धारका क्रममा सुरुङको करिब ७० मिटर भित्रबाट पानी निस्किरहेको प्वाल फेला परेको थियो। त्यसै प्वालबाट उद्धार टोली करिब १३० मिटर भित्रसम्म प्रवेश गरी खोजी गरेको भए पनि पानीको सतह सुरुङको माथिल्लो भागसम्म पुगेकाले एक्स्काभेटर प्रयोग गर्न नसकिने अवस्था बनेको थियो।

त्यसपछि गोताखोरसहितको टोलीले उक्त प्वालबाट प्रवेश गरी सुरुङको अन्तिम भागसम्म खोजी गर्दा तीन शव फेला परेको निर्देशनालयले जनाएको छ। घटनास्थलमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित: ३१ भदौ २०८३ १६:१३ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast