नेपालकै सबैभन्दा बढी डेंगुको जोखिममा रहेको बागलुङमा अब स्क्रब टाइफस पनि फैलियो

हिमाल प्रेस ३१ भदौ २०८३ ६:३५ | Wednesday, September 16, 2026
नेपालकै सबैभन्दा बढी डेंगुको जोखिममा रहेको बागलुङमा अब स्क्रब टाइफस पनि फैलियो

बागलुङ- नेपालमै डेंगुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेंगु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रुपमा डेंगु फैलिएको छ । बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेंगु फैलिएको छ । जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सदरमुकाममा हाल घरैपिच्छे डेंगु सङ्क्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ । दैनिकजसो डेंगु फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि सङ्क्रमण बढिरहेको पाइएको छ ।

गत वर्ष पाँच जनामा देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्षको साउनयता मात्रै २८२ जनामा पुष्टि भएको छ । डेंगु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ । स्क्रब टाइफसको ५० प्रतिशत सङ्क्रमित गलकोट नगरपालिकामा देखिएको छ ।

नेपालमै सबैभन्दा बढी डेंगु फैलिएको जिल्लाका रुपमा बागलुङ र पालिकाका रुपमा बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए। उनले बागलुङ डेंगुसहित स्क्रब टाइफसको उच्च जोखिममा रहेको छ ।

“हामीले उच्च सतर्कता अपनाउँदै गए पनि सङ्क्रमणको दर उच्च रहेको छ भने धौलागिरि अस्पतालमा डेंगुका बिरामीको चाप उच्च रहेको छ,” शर्माले भने, “बागलुङ बजारमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेसँगै ग्यारेजका टायरसमेत जफत गर्न थालिएको छ ।”

जिल्ला सदरमुकाममा दैनिक ३० देखि ५० जना सम्ममा डेंगु देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए। डेंगु नियन्त्रणमा तदारुकता नदेखाउने ग्यारेजबाट चार ट्याक्टर टायर जफत गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

प्रकाशित: ३१ भदौ २०८३ ६:३५ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast