भोटेकोशी बाढीपछि अवरुद्ध रसुवा सडक : ‘फड्के’ र ‘तुइन’ थापेर पैदल हिँड्ने बनाइयो

हिमाल प्रेस २९ भदौ २०८३ ९:२१ | Monday, September 14, 2026
भोटेकोशी बाढीपछि अवरुद्ध रसुवा सडक : ‘फड्के’ र ‘तुइन’ थापेर पैदल हिँड्ने बनाइयो

काठमाडौँ- रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ । फलाखु खोला र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि उक्त सडकखण्डमा आवतजावत अवरुद्ध थियो।

आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए । पहिलो चरणमा पैदल यात्राका निम्ति आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ । स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको उनले बताए ।

स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक–दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ ।

फड्के निर्माणपश्चात् नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले जानकारी दिए । समाजसेवी गणेश श्रेष्ठका अनुसार, फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको सहयोग रह्यो ।

यस्तै, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए ।

तत्कालको आवागमन समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको बेत्रावतीको फड्के र स्याफ्रुबेँसीको तुइनबाट आवतजावतमा स्थानीयवासीलाई सहज भएको जनाइएको छ ।

विशेष गरेर उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो, ग्रेलगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज भएको छ ।

बेत्रावतीमा फड्के निर्माणपछि लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले, राम्चेलगायत क्षेत्रका बासिन्दालाई पनि आवागमनमा राहत पुगेको जनाइएको छ ।

स्थानीयवासीले भने अस्थायी फड्के तथा तुइनले तत्कालको समस्या समाधान गरे पनि दीर्घकालीन रूपमा बेलीब्रिज निर्माण गर्न माग गरेका छन् । बाढीका कारण भत्किएको सडक तथा पुल संरचनाको पुनर्निर्माणलाई तीव्रता दिई छिटोभन्दा छिटो बेलीब्रिज निर्माण गरिदिन उनीहरूले आग्रह गरेका छन् । रासस

प्रकाशित: २९ भदौ २०८३ ९:२१ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast