स्पेनका युवा स्टार लामिन यामाल।
काठमाडौँ- स्पेनिस ला लिगामा लेभान्तेलाई हराउँदै बार्सिलोना शीर्षमा उक्लिएको छ। गए रातिको खेलमा बार्सिलोनाका युवा खेलाडी लामिन यामालको २ गोलको मद्दतमा लेभान्तेलाई सहज हराउँदै बार्सिलोना शीर्षमा पुगेको हो। बार्सिलोनाले लेभान्तेलाई ४–२ गोलअन्तरले हराएको हो।
जितसँगै बार्साले दोस्रो स्थानको रियल मड्रिडसँग ३ अंकको स्पष्ट अग्रता बनाएको छ।
खेलको पाचौँ मिनेटमा नै जाभी एस्पार्टको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको १९ औँ मिनेटमा लामिन यामलको गोलमा बार्साले अग्रता दोब्बर पार्यो। उनले ४८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता फराकिलो पारे।
७९ औँ मिनेटमा लेभान्तेका लागि इभान रोमेरोको गोल फर्काए। त्यसको नौ मिनेटपछि रोजर ब्रुगेले गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।
इन्ज्युरी समयमा करिम एडेयेमीलले गोल गरेपछि बार्सिलोनाले जित पक्का पर्यो। जितसँगै ५ खेलबाट १५ अंक बटुलेको बार्सिलोना शीर्ष स्थानमा छ। समान खेलबाट एक खेलमा हार भोगेको रियल मड्रिड १२ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
गएराति नै भएको अन्य खेलमा एथलेटिको मड्रिडले रियल सोसिडाडलाई ३–० गोल अन्तरले हरायो। अर्को खेलमा सेल्टा भिगो र मालागा तथा गेटाफे र डिपोर्टिभो डी ए कोरुनाले १–१ को बराबरी गर्दै अंक बाँडे।


