काठमाडौँ- कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
मिलनचोकमा बाटो पार गर्ने क्रममा धनगढी उपमहानगरपालिका-२ आदर्श टोलका १८ वर्षीय अंकित गुप्ताले चलाएको सुदूरपश्चिम प्रदेश ०१-००२ स ६११ नम्बरको अटोरिक्साले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका-८ ‘क’ गाउँका १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका-८ का २२ वर्षीय दिनेश थापा घाइते भएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


