इटहरीमा मोटरसाइकल दुर्घटना : प्रशासन कार्यालयमा कार्यरत कर्मचारीसहित २ को मृत्यु

हिमाल प्रेस २८ भदौ २०८३ ९:४६ | Sunday, September 13, 2026
इटहरीमा मोटरसाइकल दुर्घटना : प्रशासन कार्यालयमा कार्यरत कर्मचारीसहित २ को मृत्यु मृतक सागर रेग्मी।

इटहरी- इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु भएको छ। आज (आइतबार) बिहानको राति करिब २ः५० बजेतिर इटहरीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ बालग्राममा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी, इनरुवा नगरपालिका–३ का अन्दाजी ३४ वर्षीय सागर रेग्मी र सोही स्थानका २९ वर्षीय पारस थापाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पुष्टि गरे।

‘आज बिहानको राति दुःखद् घटना भएको जानकारी आएपछि अहिले हामी अस्पतालमै छौँ,’ अर्यालले भने, ‘दुवैजनालाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवामा पठाइएको छ । इनरुवा अस्पतालमा पोस्टमार्टम गर्ने तयारी छ ।’ आफूले पनि उक्त घटना थाहा पाएपछि अपत्यारिलो र विक्षिप्त बनेको प्रजिअ अर्यालले बताए।

रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार सेवामा कार्यरत कर्मचारी थिए । उनी प्रमुख जिल्ला अधिकारीका स्वकीयका रूपमा कार्यरत थिए । अर्का मृतक थापा पनि यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमै करारमा कार्यरत रहेपनि केही समयअघि मात्रै राजीनामा दिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनामा गम्भीर घाइते भएका दुवैजनालाई प्रहरी टोलीले उद्धार गरी बिहान ३ः२३ बजेतिर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । उपचारका क्रममा रेग्मीको बिहान ४ः५२ बजे र थापाको बिहान ५ः११ बजे मृत्यु भएको चिकित्सकले पुष्टि गरेका थिए।

प्रहरीका अनुसार घटनास्थलमा थापा हेल्मेट लगाएको अवस्थामा भेटिएका थिए । रेग्मी मोटरसाइकल पछाडि सवार थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ भदौ २०८३ ९:४६ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast