भोटेकोशी भेलबाट सुनका मंगलसूत्र र औँठी निकाल्ने व्यक्ति धादिङबाट पक्राउ

हिमाल प्रेस २८ भदौ २०८३ ७:१५ | Sunday, September 13, 2026
14
SHARES
भोटेकोशी भेलबाट सुनका मंगलसूत्र र औँठी निकाल्ने व्यक्ति धादिङबाट पक्राउ

काठमाडौँ- भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घर बगाएको थियो। सोही क्रममा बगाएर ल्याएका गरगहना तामाङले भदौ ११ गते फेला पारी कसैलाई जानकारी नदिई आफ्नो घरमा राखेको भन्ने जानकारी बोगटीले अन्य व्यक्तिबाट थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुका बाला तीन टुक्रा, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, रातो पोतेमा जडित दुई थान मङ्गलसूत्र तथा चाँदीजस्तो देखिने सेतो धातुका दुई जोर पाउजु बरामद गरेको छ।

तामाङमाथि चोरीसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित: २८ भदौ २०८३ ७:१५ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast