जन्मथलो म्याग्दीबाट प्रकाश दुतराजको ब्यान्ड सुरुवात

हिमाल प्रेस २८ भदौ २०८३ ६:४१ | Sunday, September 13, 2026
जन्मथलो म्याग्दीबाट प्रकाश दुतराजको ब्यान्ड सुरुवात

म्याग्दी- कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत साङ्गीतिक समूह) सुरुआत गरेका छन् । बेनीको खुलामञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको समारोहमा दुतराजको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक भएको हो ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिएका र सदरमुकाम बेनीमा बाल्य तथा किशोर अवस्था बिताउनुएका दुतराजले नेपालमै पहिलो पटक लोकसङ्गीत साङ्गितिक समूह बनाएको बताए।

“यो नेपालको पहिलो लोकसङ्गीत ब्यान्ड हो’, उनले भने, ‘विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसङ्गीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट सुरुआत गरेको छु ।”

दुतराजले अबको साङ्गीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको वाद्यावादनसहित हुने जानकारी गराए। “करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएकामा खुसी र उत्साही छु”, उनले भने, “ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो ।”

दुतराजको नेतृत्वमा रहेको समूहमा वाद्यवाधनसहित १२ कलाकार समावेश भएका छन् । ब्यान्डले नेपालमा सांगीतिक टूरको समेत तयारी गरिरहेको जनाएको छ । उनका मनमाया, घर कता हो बैनीको, रिमै, रेशम, छैन र माया, एैना भ्यलैमालगायतका लोकगीत चर्चित छन् ।

यसअघि यही भदौ १२ गते जनैपूर्णिमा पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रम रसुवा बाढीका कारण स्थगित भएको थियो । आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले भने, “म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवबाट गायनयात्रा थालेका प्रतिभाको प्रोत्साहनका लागि हामीले साथ दिएका छौँ, विपन्न समुदायका प्रकाशको सङ्घर्ष र मिहेनत प्रेरणादायी छ ।”

दुतराजको ब्यान्डको प्रस्तुतिमा रमाउनका लागि म्याग्दीका साथै बागलुङ र पर्वतबाट आएका दर्शकहरूले बेनीको खुलामञ्च भरिएको थियो। प्रवेश निःशुल्क गरिएको कार्यक्रममा दर्शकहरू प्रकाशको प्रस्तुतिसँगै सिमसिमे पानीको प्रवाह नगरी नाचेर मनोरञ्जन लिएका थिए । प्रस्तुतिअघि आफ्नो विगतका सङ्घर्षका दिन र साथ दिनेहरूलाई सम्झिएका दुतराजले आगामी साङ्गीतिक योजनामा पनि साथ र सहयोग गर्न अपिल गर्नुभयो । कार्यक्रममा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई म्याग्दी उद्योग वाणिज्य सङ्घको तर्फबाट सम्मान गरिएको थियो ।
–––

प्रकाशित: २८ भदौ २०८३ ६:४१ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast