शिक्षामन्त्री पोखरेल भन्छन् – सिरहा घटनाबारे भ्रम फैलाउने प्रयास भयो

हिमाल प्रेस २७ भदौ २०८३ १९:२७ | Saturday, September 12, 2026
शिक्षामन्त्री पोखरेल भन्छन् – सिरहा घटनाबारे भ्रम फैलाउने प्रयास भयो फाइल तस्बिर

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सिरहाको औरहीमा भएको घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको बताएका छन्।

दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनले बताएका हुन्।

‘घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोको आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।’

मन्त्री पोखरेलले कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको आफूहरूको मूल उद्देश्यलाई रोक्न नसक्ने बताएका छन्। घटनापछि पनि सिरहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर संवाद गरेको उनले उल्लेख गरेका छन्।

मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका सकारात्मक काम देखेर असन्तुष्टि बढेको हुनसक्ने उनको भनाइ छ।

‘मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका सकारात्मक काम देखेर असन्तुष्टि हुनु स्वाभाविक होला। तर, त्यसकै आधारमा भ्रम फैलाउनेभन्दा हामीले गरिरहेको कामलाई जनताले आफैँ मूल्यांकन गर्न दिनु राम्रो हुन्छ,’ पोखरेलले भनेका छन्।

राजनीतिक स्टन्ट गर्न नभएर फिल्डमै पुगेका काम गर्न खोजेको उनले बताएका छन्।

‘हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारातमक परिवर्तन ल्याउन आएका हौँ,’ उनले भनेका छन्,‘हल्लाभन्दा काम ठूलो हो र हाम्रो काम र नियतको मूल्यांकन जनत स्वयंले गर्नेछन्।’

सिरहाको औरहीमा शनिबार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ परिमार्जनका विषयमा सरोकारवालासँग आयोजित छलफल कार्यक्रममा विवाद भएपछि मन्त्री पोखरेल माइक छोडेर हिँडेका थिए।

छलफल कार्यक्रमका लागि स्थानीयसँग समन्वय नगर्दा व्यवस्थित नभएको भन्दै रास्वपाकै स्थानीय नेता कार्यकर्ताले विरोध गरेपछि विवाद सिर्जना भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast