काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्।
थापाले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गरे।
२०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्त्व धेरै रहेको उनले बताए। उनले विपद्छिको पुनर्निर्माणमा ठूलो स्रोत परिचालन गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको सोच सरकारको निर्णय बन्ने हुँदा सही आर्थिक दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए।
सभापति थापाले कांग्रेसको अधिवेशन तोकिएकै मितिमा हुने र यसमा कुनै अन्योल नरहेको स्पष्ट पारे। पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुने र प्रतिस्पर्धाबाट नेतृत्वमा आउने तथा नआउने सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाइने उनको भनाइ छ।
सभापति थापाले नागरिकहरूसँग टुटेको विश्वास पुनःस्थापित गर्न महाधिवेशन र दसैँलगत्तै ७७ वटै जिल्लामा गाउँगाउँ पुग्ने गरी देशव्यापी अभियान थालिने जानकारी दिए।


