बागलुङ- भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।
त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका-९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति १६ दिनसम्म नभेटिएपछि उनीहरूका अभिभावकले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।
बेपत्ता भएका इन्जिनियर दम्पतीका आफन्ती विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा थिए।
यसैबीच, त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली-३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चारसहित १६ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


