रसुवा बाढीको पछिल्लो अपडेटमा एक हजार ३८५ शव फेला

हिमाल प्रेस २६ भदौ २०८३ ५:३८ | Friday, September 11, 2026
रसुवा बाढीको पछिल्लो अपडेटमा एक हजार ३८५ शव फेला

काठमाडौँ- भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेलापरेको छ। बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन्।

प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला तथा ५०९ वटा शव आंशिक अङ्गसहितका छन्। भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन्। यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष, ३२८ महिला सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनकार्यलाई सुरक्षा निकायले निरन्तरता दिएको छ। फेलापरेका शवमध्ये एक हजार १४८ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

बाढीपछि हालसम्म नौ हजार २८७ जनाको उद्धार गरिएको छ। जसमा पुरुष छ हजार ४०७, महिला दुई हजार ८३० र पहिचान नखुलेका ५० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएकामध्ये तीन हजार १७६ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक एक हजार २८६ जना र मृतकका आफन्तका एक हजार ७१२ जना गरी दुई हजार ९९८ जनाको डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा निरन्तर परिचालित छन्।

प्रकाशित: २६ भदौ २०८३ ५:३८ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast