फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उद्योगमन्त्री गौरीकुमारी यादवले राजनीनामा नदिई बर्खास्त गरिएको बताएका छन्। सरकारले मधेशीमाथि सुरूदेखि प्रहार गरिरहेको बताउँदै उनले राजीनामा दिएको देखिए पनि मन्त्री यादवलाई बर्खास्त गरिएको दाबी गरेका हुन्।
‘मधेशीमाथि सुरूदेखि प्रहार भइरहेको छ, चाहे दीपक साहको राजीनामा होस् वा गौरीकुमारीको,’ बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले भने,‘उहाँले राजीनामा दिएको होइन, बर्खास्त गरिएको छ, किनभने रुँदै जानुभएको छ।’
पक्राउ गर्न प्रहरी पठाइएकै दिन गौरीकुमारीले राजीनामा दिनुपर्ने उनको भनाइ छ।
‘यो माननीय गौरीकुमारी यादव त्यो दिन राजीनामा दिनु पथ्र्योँ जुन दिन रातमा प्रहरी परिचालन गरिएको थियो,’ सिंहले भने,‘प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीको अधिकार हुन्छ जतिबेला पनि मन्त्रीलाई बर्खास्त गर्ने, उहाँलाई चित्त बुझेन भने, किनकि सबै अधिकार प्रधानमन्त्रीको हुन्छ। तर प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई एरेस्ट गर्न वा सचिवालयले पठाउँछ।’
सांसद सिंहले वालेन्द्र शाह नेतृत्वको सरकारलाई तासको पत्ताको संज्ञा दिएका छन्।
‘सरकारलाई म भन्न चाहन्छु, तपाईं मधेशीको बलमा सरकार ठड्याउनु भएको छ, तपाईं तासको पत्ता हो, तपाईंका लागि यही व्यक्तिले भनेको थियो कि सरकार बनेन भने आत्मदाह गर्छु। र, यही ठाएँबाट भन्न चाहन्छु तपाईं मधेशीलाई तबाह गर्नु हुन्छ तपाईंको नास लेखिएको छ,’ उनले भने।
बर्दिवासमा मेडिकल कलेज बन्ने मधेशीको सपना सरकारले समाप्त पारेको उनले आरोप लगाए।
सांसद सिंहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन लुकेर भारत गएर त्यहाँको जासुसी संस्थाका अधिकारीसँग भेट गरेको दाबी गरे।
‘त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सल्लाहकारलाई छैन,’ सिंहले भने,‘त्यो गएको हो, यदि भन्यो भने म भनिदिन्छु–दिल्लीको लिाल प्यालेसको सकेन्ड फ्लोरमा बसेको, म दिल्लीमा पढेको हो, मलाई थाहा छ लिला प्यालेस होटल कहाँ छ, रुम नम्बर त्यति गोप्य त भन्नु हुँदैन।’
सल्लाहकारलाई कुनै कार्यकारी अधिकार नभएको भन्दै उनले कर्मचारी तथा प्रहरी प्रमुखहरू बेइज्जत हुने गरेको उल्लेख गरे।
सिंहले भने,‘सल्लाहकारलाई कुनै पनि कार्यकारी अधिकार छैन, तर रातदिन त्यहाँ कर्मचारी जान्छ बेइज्जत भएर आउँछ, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख रोएर आउँछ।’
संविधानले व्यवस्था गरेको प्रधानमन्त्रीय व्यवस्था सल्लाहकार व्यवस्थामा परिवर्तन भएको उनले आरोप लगाए।
‘सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ, तर सरकारको केन्द्र ज्वागल बनेको छ, हुकुमी शासन चलिरहेको छ,’ उनले भने,‘सम्पत्ति शुद्धीकरणका डीजीलाई राति एक बजे बोलाएर कन्चटमा पेस्तोल भिराएर कसरी भनिन्छ कि यसलाई दुई घण्टाभित्र रेड कर्नर नोटिस जारी गर? म त्यो घटनाको पनि चर्चा गर्न चाहन्नँ कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ।’
सांसद सिंहले समावेशिताको सिद्धान्तका विपरित स्वास्थ्य र शिक्षामन्त्रीले विभिन्न नियुक्तिहरू गरेको आरोप लगाए।


