एक साताभित्रै बाढी प्रभावितको सर्वेक्षण गरिसक्ने सरकारको दाबी

हिमाल प्रेस २४ भदौ २०८३ १५:०३ | Wednesday, September 9, 2026
एक साताभित्रै बाढी प्रभावितको सर्वेक्षण गरिसक्ने सरकारको दाबी भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले खण्डहर बनाएको नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावती क्षेत्र। तस्बिर : रासस

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण थालेको छ।

आपत्कालीन अवस्थामा प्रभावितलाई आश्रय दिन सञ्चालन गरिएका होल्डिङ सेन्टरबाट अब प्रत्येक परिवारको आवश्यकताअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी सरकारले गरेको हो। प्रभावित परिवारको इच्छाअनुसार अस्थायी आश्रय वा भाडामा बस्ने व्यवस्थालगायतका विकल्प पहिचान गर्न मंगबारदेखि सर्वेक्षण सुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली परिचालन गरी ‘कोबो टुलबक्स’ मार्फत ‘आवश्यकता मूल्यांकन फारम’ प्रयोग गरेर सर्वेक्षण गरिरहेको छ।

सर्वेक्षणबाट प्रभावित व्यक्ति तथा परिवारको विवरणसँगै उनीहरूको घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्था, परिवारका दिवंगत तथा बेपत्ता सदस्यको संख्या, अस्थायी आश्रय वा भाडामा बस्न चाहेको विकल्प, जग्गाको उपलब्धता तथा स्थानान्तरणका लागि उपयुक्त विकल्पबारे जानकारी संकलन गरिनेछ।

प्रभावित परिवारको खानेपानी, सरसफाइ तथा अन्य आवश्यकतासमेत सर्वेक्षणमार्फत पहिचान गरिने विभागले जनाएको छ।

सञ्चालन भइरहेको सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक परिवारको वास्तविक आवश्यकता पहिचान गर्न सहयोग गर्नेछ। सोही आधारमा सरकारले अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयन गर्ने तयारी गरेको छ।

एक साताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका बाढी प्रभावित परिवारको पनि यही ‘आवश्यकता मूल्यांकन फारम’ प्रयोग गरी सर्वेक्षण गरिनेछ।

प्रकाशित: २४ भदौ २०८३ १५:०३ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast