एमाले नेतृ विद्या भण्डारी
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्षको भदौ २३ र २४ गते देशले अत्यन्त पीडादायी र दुःखद घटना व्यहोरेको बताएकी छन्। गत वर्षको भदौ २४ मा भएको विध्वंशको स्मरण गर्दै भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिका घटनाका रूपमा हेर्न नहुने बताएकी हुन् । उनले विज्ञप्तिमार्फत एक वर्ष बितिसक्दा पनि भदौ २३ र २४ का घटनाका कतिपय गम्भीर प्रश्नहरू अनुत्तरित रहेको बताएकी छन्।
राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको भए पनि सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभएको उनले उल्लेख गरेकी छन् । सञ्चारमाध्यममार्फत प्रतिवेदनका केही विवरण बाहिरिए पनि घटनाको समग्र प्रकृति र त्यसमा संलग्न पक्षहरूको भूमिकासम्बन्धी प्रश्न अझै पूर्ण रूपमा निरूपण नभएको उनको भनाइ छ ।
उनले न्यायलाई राजनीतिक प्रतिशोधको आधार बनाउन नहुनेमा जोड दिँदै प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउन तथा निर्दोषमाथि अन्याय हुन नदिन आग्रह गरेकी छन् ।
‘राज्यका निकाय हुन् वा आन्दोलनमा सहभागी नागरिक, कानुन सबैका लागि समान हुनुपर्छ,’ भण्डारीले भनेकी छन् ।
नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई आफूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले नागरिकका आवाज र असहमतिलाई सम्मान गर्नुपर्ने बताएकी छन् । साथै, लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिएको स्मरण गराउँदै नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने उल्लेख गरेकी छन् ।


