कास्कीको किम्रोङ खोला थुनियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस २३ भदौ २०८३ २१:३९ | Tuesday, September 8, 2026
कास्कीको किम्रोङ खोला थुनियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ११ स्थित किम्रोङ खोला थुनिएको छ। पहिरोका कारण मंगलबार साँझ करिब ६ बजेदेखि खोला थुनिएको हो।

पानीको बहाव अबरुद्ध भएसँगै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले खोला थुनिएपछि किम्रोङखोला तथा मोदीखोला तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन सूचना जारी गरेका छन्।

अध्यक्ष केसीको नेतृत्वमा एक टोली यसबारे बुझ्न वीरेठाँटी प्रस्थान गरेको छ। त्यसैगरी, घान्द्रुकबाट पनि प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले स्थानीयले खोला थुनिएको र पानीको बहावमा अबरुद्ध भएको जानकारी गराएपछि प्रहरी टोली खटाइएको हो।

खोला थुनिएका र पछि त्यसको बहाव एकैपल्ट खोल्दा सम्भावित क्षति हुन सक्ने भएकोले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले पनि सार्वजनिक सूचना जारी गर्दै ‘मोदी खोला आसपासका बस्तिहरु बिरेठाँटी, स्याउलेबजार, लगायतका बस्तिहरु सुरक्षित स्थानमा गई बस्नु हुन तथा सतर्कता अपनाउनु हुन अनुरोध’ गरेको छ।

केही समयअघि पनि अत्यधिक वर्षाका कारण किम्रोङ र मोदी खोलामा आएको बाढीले पुलसमेत बगाएको छ। साथै, भौतिक संरचनामा क्षति पुग्नुका साथै सडक कटान गर्दा अहिले घान्द्रुक आउजाउ अबरुद्ध छ।

किम्रोङ खोला मोदी खोला हुँदै पर्वतमा पुगेर कालीगण्डकी नदीमा मिसिन्छ।

प्रकाशित: २३ भदौ २०८३ २१:३९ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast