काठमाडौँ- भारतमा चिनीको मुल्य घट्न थालेपनि नेपालमा भने चिनीको मुल्य घट्न नसक्दा उपभोक्ता मर्कामा परेका छन्।
विराटनगरको सिमावर्ती जोगबनी बजारमा एक सय रुपैयाँ प्रतिकिलो रहेको चिनीको मुल्य प्रतिकिलो १० रुपैयाँ घटेर ९० रुपैया पुगेको बेला विराटनगरमा भने चिनीको मुल्य १२० रुपैया प्रतिकिलो रहेको छ।
भारत सरकारले शुन्य भन्सार र अन्य कर पनि छुट दिएर ५ लाख मेट्रिक टन चिनी आयात गरेपछि भारतमा चिनीको मुल्य घट्न थालेको हो। नेपाल सरकारले भने १ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तथा त्यसमा पनि साल्ट ट्रेडिङ
कर्पोरेशन र खाद्य कम्पनीलाई मात्र २५ हजार मेट्रिक टन आयातको अनुमति दिएकाले चिनी अभावका कारण मुल्य नघटेको आयातकर्ताहरुले बताएका छन्।
नेपालका चिनी मिलहरुले न्यून मुल्यको बिल काटेर बढी मुल्यमा चिनी बेचिरहेका कारण पनि नेपाली बजारमा चिनीको मुल्य घट्न नसकेको चिनी आयातकर्ताहरुले जनाएको छ। दसैँअगाडि नै चिनी ल्याउन नसके चिनीको मुल्य नघट्ने चिनी आयातकर्ता जीवन रिजालले बताए।
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले प्रतिबन्ध लगाएका कारण सिमावर्ती बजारबाट चिनी ल्याउन भारतीय सशस्त्र सिमा बल (एसएसबी) ले रोक्ने गरेको छ।
नेपालमा चिनीको अभाव भइरहेको बेला सशस्त्र प्रहरी बल पनि सीमा क्षेत्रमा चिनी ल्याउन कडाई गरेपछि बजारमा चिनीको अभाव भएकाले मुल्यवृद्धि भएको व्यापारीहरुले बताएका छन्।
सशस्त्र प्रहरीले भने अन्य वस्तु ल्याउन कडाई गरेको भए पनि चिनी ल्याउन कडाई नगरेको बताएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको एनसीईएल मार्फ २५ हजार मेट्रिक टन चिनी आयातको प्रक्रिया शुरु गरिसकेको बताइएको छ। भारतले दिने डेढ लाख मेट्रिक टन कोटाको चिनीमध्येबाट चिनी आयात हुन लागेको हो।
सिमावर्ती वीरगञ्जसम्म पुर्याउने गरी भारतीय ५७ रुपैया प्रतिकिलोमा आयात गर्न लागिएको चिनी आएपछि मुल्य केही कम हुन सक्ने व्यापारीहरुले बताएका छन्।


